लायन्स र लियो क्लबको संयुक्त पहलमा बादी समुदायलाई न्यानो लुगा वितरण

कैलाली, २६ पुस । अत्याधिक चिसोका कारण कैलालीको जन जिवन प्रभाबित भएको छ । चिसो बढेपछि लायन्स तथा लियो क्लबको संयुक्त पहलमा बल्चौरमा रहेको बादी समुदायलाई न्यानो लुगा वितरण गरिएको छ ।

लगातार बढदै गएको चिसोका कारण बादी बस्तीका महिला तथा बालबलिकासंग न्यानो लुगाको आवश्यक भएपछि वितरण गरिएको हो ।
कार्यक्रम अन्र्तगत बादी बस्तीमा बसोबास गर्दै आएका ९१ घर परिवारलाई ज्याकेट, ट्राउजर, पाईन्ट र स्वेटर लगायतका लत्ताकपडा वितरण गरिएको लाइन्स क्लब ३३२ बि टु नेपालका जोन चियर पर्सन दिपक कुमार तिमिल्सेनाले जानकारी दिए ।

त्यसै गरी साथै बल्चौर अनाथ आश्रममा बस्दै आएका ८ जना बालबालिकालाई समेत न्यानो लुगा वितरण गरिएको छ । विदेशमा बस्दै आएका केही नेपालीहरुको सहयोग र लाइन्स सदस्यहरुले रकम संकलन गरी यस क्षेत्रको अति विपन्न बादी बस्तीमा न्यानो कपडा वितरण गरिएको राहत वितरणका कार्यक्रम संयोजक घनश्याम डागीले जानकारी दिए ।

बल्चौरमा भएको राहत वितरण कार्यक्रम लायन्स क्लबका पुर्व अध्यक्ष डाक्टर छबीलाल जोशीको सभापतित्वमा तथा लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापा प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष दिपक कुमार तिमिल्सेना, डिल्ली प्रसाद गड्तोल, खडानन्द सपकोटा, क्रेटीभका अध्यक्ष कमला ओली, लियो क्लबका पुर्व अध्यक्ष घनश्याम डागी लगायतकाको सहभागिता रहेको थियो । लायन्स तथा लियो क्लबहरुले यस क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन ।