कारागारमै शारदा थारुले बच्चा जन्माइन छोरी

दाङ, १८ पुस । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले छोरी जन्माएकी छन् । घोराही—८ घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अबस्थामा छोरी जन्माएकी हुन् ।

गत जेठ महिनामा ठगी मुद्धामा जेल परेकी थारुले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको कारागारका जेलर देबेन्द्र श्रेष्ठले जानकारी दिए । उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने ब्यबस्था मिलाइएको बताए । उनको मुद्धा चलिरहको छ । त्यसको फैसला नहुँदासम्म यतै बस्छिन्, श्रेष्ठले भने, ‘जेलभित्र सुत्केरीले पाउने सेवा सुविधा र स्याहार पनि सबै पाउने छन् ।’

कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन् ।

सुत्केरी खर्च ब्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु उनले भने, ‘बन्दी जीबन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ । उनले सुत्केरीका लागि अस्पतालदेखि कारागारसम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए ।