हारको जिम्मा लिँदै राप्रपा अध्यक्षले दिए राजिनामा
मकवानपुर । चुनावमा सोचेजस्तो परिणाम नआएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले राजिनामा दिएका छन् । राप्रपा मकवानपुर जिल्ला सभापतिबाट गणेश थापाले राजीनामा दिएका हुन् ।
पार्टीका अध्यक्ष तथा दाजु कमल थापाले चुनाव हारेको जिम्मा लिँदै गणेशले शुक्रबार पदबाट राजिनामा दिएका छन् । उनले पार्टीको केन्द्रीय अध्यक्षले चुनाव हार्नु जिल्लाको लागि दुर्भाग्यपूर्ण भएको समेत बताएका छन् ।
भरपुर प्रयास गरेपनि अध्यक्ष कमल थापालाई जिताउन नसकेकोप्रति आत्मग्लानी भएको जिल्ला अध्यक्ष थापाले बताएका छन् । “भरपुर प्रयास गरेपनि चुनावमा सोँचेजस्तो परिणाम आउन सकेन । यसमा मलाई निकै ग्लानी भएको छ, पार्टीले अपेक्षा गरेअनुसार परिणाम आउन नसक्नुको नैतिक जिम्मेवारी लिन्छु” थापाले भने ।
पार्टीको जिम्मेबारीबाट राजीनामा दिएपछि पार्टी र कार्यकर्ताको संरक्षण तथा हकहितका लागि सदैव तयार रहेको थापाले बताएका छन् । उनले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक तथा मतदाताप्रति आभारी व्यक्त गरेका छन् । थापाले आफ्नो राजीनामा र पार्टीको हारबाट बिचलित नभई संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्तामा आहृवानसमेत गरेका छन् ।
भाईको राजीनामाबारे कमल थापाले अहिलेसम्म केहि प्रतिक्रिया भने दिएका छैनन् ।
निकै तडकभडकसहित चुनावमा गएको राप्रपाले प्रत्यक्षमा झापामा एक सिटमा जित्त बुझाएको छ भने समानुपातिकमा ३ प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाएको छैन ।
राप्रपा अध्यक्ष कमल थापाकै कारण चुनावको मुखमा राप्रपा विभाजन भएको थियो । त्यसको प्रत्यक्ष असर चुनावमा दुबै समूहले भोगेका छन् । त्यसैगरी पशुपतिभन्दा पहिले अलग भएका डा.प्रकाशचन्द्र लोहनीको हाविगत झन नाजुक बनेको छ ।
अबको पाँच वर्षपछि राप्रपा खोज्नु पर्ने अवस्था नअाउला भन्न सकिदैन ।













