कैलाली ५ मा चुनाबी सरगर्मी बढ्यो, सबै उम्मेदवारले आफ्नो पल्ला भारिको भएको दाबी
कैलाली, २७ कात्तिक । निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीमा कांग्रेस सभापति एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा उम्मेदवार बनेको क्षेत्र नम्बर ५ मा टक्कर दिन बाम गठबन्धनले एमाले नेता नारदमुनी रानालाई मैदानमा उतारेको छ ।
सोही क्षेत्रमा युवा व्यवसायी दिनेशराज भण्डारी विवेकशिल साझा पार्टीको तराजु बोकेर र टीकापुर घटनाका आरोपित लक्ष्मण थारु जेल भित्रैबाट राजाप पार्टीको छाता बोकेर उत्रँदा प्रतिष्पर्धा रोचक बनेको छ ।
२०७० को सविंधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवाले जितेको यही क्षेत्रबाट देउवा पत्नी राणा बिरासत जोगाउन उत्रंदा एमाले नेता राना विजयका साथ नयाँ इतिहास रच्न चाहन्छन् ।
यही चुनावी रस्साकस्सीले व्यापारिक केन्द्र मानिएको धनगढीको माहोल पनि तातेको छ । धनगढी उपमहानगरका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा समेटेर निर्वाचन क्षेत्र बनाइएकाले पनि चुनावको मूख्य केन्द्र धनगढी नै बनेको हो ।
सुदूरपश्चिमको विकासमा काँग्रेस समर्पित रहेकाले आफ्नो जित कसैले रोक्न नसक्ने विश्वास राणाको छ भने एमाले उम्मेदवार राना पनि मतदातालाई आफूतिर आकर्षित गर्न सकेसम्मका आश्वासन र प्रतिवद्धता बाँड्दै हिडेका छन् । आफ्नो एजेण्डाले जनताको मन र निर्वाचन दुबै जित्ने दावी रानाको छ ।
कांग्रेसका राणा र एमालेका रानाको चुनावी एजेण्डा हेर्दा धेरै भिन्न देखिन्न । दुबैले विमानस्थल विस्तारदेखि सडक स्तरोन्नतीसम्मका विकास निर्माणको विषयलाई भोट माग्ने आधार बनाएका छन् । उता विवेकशील साझा पार्टी भने विकास निमार्णसँगै युवालक्षित कार्यक्रम बोकेर उत्रिएको दावी गर्दछन् ।
सबै उम्मेदवारहरु जनताको घरमा पुगेर आफ्नो एजेन्डा बाडिरहेका छन् भने जेल भित्रैबाट लक्ष्मण थारुले टेलिफोन वार्तामा होमिएका छन् । उनी पहिचानसहितको संघीयता तथा थरुहटको मुद्धा स्थापित गर्न र विकास तथा सम्पन्नताको लागि भष्टचार विरुद्ध लड्न आफ्नो उम्मेदवारी रहेको बताउछन् ।
उनले जीतको आधार पनि स्पष्ट रहेको उल्लेख गर्दै आफ्नो पक्षमा बड्घर, भल्मन्सा, जनयुद्धकालीन योद्धा, शोषित पीडित जनता रहेको दाबी गर्दै थरुहट आन्दोलनले उठाएको मुद्धा आफ्नोे जीतको प्रमुख आधार रहेको दाबी गर्छ ।
कैलाली ४ लाख ६० हजार ५ सय ७८ मतदाता रहेको जिल्लामा सबै भन्दा बढी क्षेत्र नम्बर ५ मा मतदाता संख्या रहेको । सबै उम्मेदवारहरुले आफ्नो पल्ला भारि भएको दाबी गरेपनिप जित हेर्न मंसिर २१ भने कुर्नै पर्ला ।













