कैलारी गाउँपालिकामा बाम गठबन्धनको चुनाबी सरगर्मी
हसुलिया, २४ कात्तिक । यहि मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनीधि सभाकोलागि बाम गठबन्धनले कैलारी गाउँपालिकामा चुनाबी सभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ३ बाट प्रदेश सभाको उम्मेदबार वीरमान चौधरीले २०६४ सालको संविधान सभाको निर्वाचन जितेर यो क्षेत्रकोलागि थुप्रै विकासको काम गरेको बताउदै उतिबेला अधुरोरहेको काम पुरा गर्न पुनः जिताउ अभियानमा सबैलाई जुट्न आग्रह गरे ।
उनले कैलारी गाउँपालिकामा आफूले बिद्युतकोलागि मात्र १३ लाख ५० हजार रकमको योजना पार्न सफल भएको बताउदै यस्तो योजना गाउँमा पहिलो पटक आएको दाबी गरे । सोही क्षेत्रमा आफ्नै पहलबाट स्वास्थ्य चौकी, ग्राबेल जस्ता विकास निर्माणका योजना समेत ल्याएको सफल भएको बताए ।
उम्मेदवार चौधरीले बाम गठबन्ध किन आवश्यक रहेको भन्ने विषयलाई पुष्टि गर्दै क्षेत्र नं. ३ बाट आफूलाई भोट दिएर जिताउन सबै जनतासंग आग्रह गरे ।
त्यसै गरी चुनाबी सभालाई सम्बोध गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकामा आएको अधिकारलाई मध्य नजर गरि सबैको समस्या समाधान गर्ने बताए । उनले आफू गाउँपालिकाको अध्यक्ष भएर ५० प्रतिशत काम शुरु गरिसकेको जानकारी दिए ।
उनले हसुलिया बहुमुखि क्याम्पसकोलागि ५० लाख बजेट विनियोजन भईसकेको, स्वास्थ्य चौकीमा सोलार जडान र भड्रीदेखि तिसियन सम्म ग्राबेलको काम शुरु भईसकेको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका उपध्यक्ष लक्ष्मी सत्गौवा, वडा नं. ३ का वडा अध्यक्ष कैलाश कुश्मी, नेकपा एमालेका समन्वयन समितिका संयोजक चन्द्रीका प्रसाद चौधरी लगायतको सहभागिता हरेको थियो ।













