कामको मूल्यांकन हेरी भोट हाल्ना क्षेत्रीको आग्रह
कैलाली, २२ कात्तिक । कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी गीता क्षेत्री राणाले आफूले गरेको कामको मूल्यांकन गरेर सो क्षेत्रका जनताले भोट दिने बताइन् ।

धनगढीमा पत्रकार सम्मेलन गरी उनले क्षेत्र नम्बर ४ को विकासको लागि सांसद विकास कोषको रकम र आफ्नो व्यक्तिगत रुपैया सोही क्षेत्रमा खर्चेको बताईन् । यसअघि, नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष समेत रहेकी क्षेत्री सोही पार्टीबाटै सांसद बन्न सफल भएकी थिइन् ।
आफू सांसद पदमा रहँदा क्षेत्र नम्बर ४ मा आवश्यकतानुसार सडक, विद्यालय, खानेपानी निर्माण, ढल निकासका लागि कोषको रकम खर्चेको उनको भनाइ छ । विकास निर्माण र मानवीय जीवनसंग केन्द्रित मुद्दाहरु आफ्नो चुनावी एजेण्डा रहेको क्षेत्रीले उल्लेख गरिन् ।
स्वतन्त्र उम्मेदवारी दिए पनि आफूसंग तत्कालिन पार्टी संगठन, कार्यकर्ता रहेको उल्लेख गर्दै उनले विकासकालागि स्पष्ट भिजन बोकेर चुनावी मैदानमा उत्रेको बताइन् ।
‘मैले चुनाव लडिरहेको क्षेत्रमा ठूला पार्टीका ठूला नेता पनि उम्मेदवार छन् । तर, ठूलो मात्रै भएर हुँदैन । विकासको लागि स्पष्ट भिजन हुनु पर्दछ’, उनले भनिन् –‘जनताले ठूला पार्टीको पुराना नेता भन्दा विकासप्रतिको स्पष्ट भिजन भएकालाई जिताउने छन् भन्ने अपेक्षा गरेको छु ।’
क्षेत्र नम्बर ४ बाट ठूला पार्टीले जित्दै आएकाले अहिलेसम्म सो क्षेत्रमा समस्यै समस्या रहेको उनको ठहर छ । ठूला पार्टीका उम्मेदवारले चुनाव जितेर स्थानीय स्तरको विकासमा ध्यान नदिएको क्षेत्रीको आरोप छ ।
कैलालीको जोनापुरबासी समेत रहेकी स्वतन्त्र उम्मेदवार गीता क्षेत्री राणालाई निर्वाचन आयोगले चङ्गा चुनाव चिन्ह प्रदान गरेको छ ।













