प्रचण्डले पिठ्‍यु पछाडी छुरा रोपे, अब सँगै बस्‍न सकिँदैनः विष्ट

काठमाडौं, २७ असोज । एमाले र माओवादी केन्द्रबीच चुनाव हुँदै पार्टी एकता गर्ने सहमति भएपछि माओवादी केन्द्रभित्र पैदा भएको असन्तुष्टी फैलिरहेको छ ।

एकताको नाममा माओवादी केन्द्र एमाले विलय हुन लागेको भन्दै नेता गोपाल किराँतीले सार्वजनिक रुपमै विरोध गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डले पहिचान र माओवाद नछोड्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै किराँती पार्टी फर्केपछि पनि असन्तुष्टी बढ्दै गएको छ ।
माओवादी आन्दोलका राप्तीका सबै भन्दा जेठा नेता लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेता विष्टमगरले आफूले माओवादी केन्द्रको साधारण सदस्यबाटै राजिनामा दिएको बताएका छन् । अब आफू एमाले र माके एकतापछि बन्ने पार्टीमा पनि सहभागी नहुने घोषणा गरेका छन् । “पार्टी सदस्य लिएर चालिस वर्ष करिब काम गरेँ । अब पनि म फेरी स्वतन्त्र भएँ । अब कता लाग्ने वा नलाग्ने मेरो सेल्फ डिसिजनको कुरा भयो । न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा” विष्टले भने ।

एक अनलाइनसँग कुरा गर्दै नेता विष्टले पार्टी अध्यक्ष प्रचण्डलाई वाम ध्रुविकरण सम्बन्धी १० बुँदे आरोप लगाएका छन् । ‘लभ गर्ने एउटा सित, लगनगाँठो अर्कैसित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रात रातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत(लाशमाथि आफ्नो निजी र निहितस्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति’ प्रचण्डले देखाए विष्टले भने ।

पूर्व पर्यटनमन्त्री समेत भइसकेका नेता विष्ट तत्कालिन नेकपा ९माओवादी०ले जनयुद्ध सुरु गर्ने बेलाको १९ सदस्यी केन्द्रीय समिति सदस्य र राप्तीका सबैभन्दा सिनियर नेता समेत हुन् ।