प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रदेश नं. ७ नम्बरमा साढे १४ लाख मतदाता

धनगढी १८ असोज । आउँदो मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि प्रदेश नम्बर ७ मा कुल मतदाता संख्या १४ लाख ३५ हजार ६ सय ७१ कायम भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको निर्वाचन आयोगको बैठकले आउँदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि तयार गरिएको ७ नम्बर प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो । जस अन्तर्गत ७ नम्बर प्रदेबशमा पुरुष मतदाताको संख्या ६ लाख ९६ हजार ५ सय ८०, महिला मतदाताको संख्या ७ लाख ३९ हजार ७५ र तेस्रो लिङ्गी मतदाताको संख्या १६ जना रहेको छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नाम यो मतदाता नामावलीमा समावेश गरिएको छ । स्वीकृत मतदाता नामावली अनुसार प्रदेश ७ मा सबै भन्दा बढी कैलालीमा ४ लाख ६० हजार ५ सय ८० र सबैभन्दा कम बाजुरामा ६९ हजार ८ सय ३० जना मतदाता रहेका छन ।