एकै पटक राज्यको तीन अंग विदेश भ्रमणमा

काठमाडौ, ४ असोज । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख एकै पटक विदेश भ्रमणमा निस्केका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलसहित २० जना अमेरिका उडेका छन् ।

आजै सभामुख ओनसरी घर्ती चीनको कुनमिङमा हुने वान वेल्ट वान रोकको कार्यक्रममा सहभागी हुन चीन जान लागेकी हुन् ।

सभामुख घर्ती असोज ८ मा फर्कने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । विदेश जाने हतार भएका कारण सभामुख घर्तिले मंगलबार रातिसम्म संसद चलाएकी थिइन् ।

यस्तै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली जापानमा छन् । प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन पराजुली मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्टार रामप्रसाद पौडेललाई सँगै लगेर सोमबार जापान पुगेका थिए ।