पोषण कार्यक्रममा लगानी धैरै, काम थोरै

कालिकोट भदौं । कर्णालीमा सरकारी निकायले पोषण सम्बन्धि दर्जनौं कार्यक्रम संचालन भएपनि कुपोषण भने न्यूनीकरण आउन सकेको छैन् ।

कर्णाली अंचलका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र जुम्ला जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालय तथा गैससहरुले खाद्य सुरक्षा तथा पोषण लगाएतका क्षेत्रमा दर्जनौं कार्यक्रम चलाउँदै आएका छन् ।

कर्णाली अंचलका यी जिल्लाहरुमा सरकारी तथा गैरसरकारी संस्थाहरुले पोषण सम्बन्धी बृद्धि अनुगमन, मातृशिशु तथा बाल्यकालिन पोषण, कृषि तथा खाद्य सुरक्षा आयोजना, बहुक्षेत्रीय पोषण योजना, शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम, किशोरीलाई आइरन चक्की बितरण, सुनौला हजार दिन संचार अभियान कसैले सर्वोतम लिटो बितरण कार्यक्रम लगायतका थुपै्र कार्यक्रम सञ्चालन भइरहेका छन् ।

यी कार्यक्रम बिगत लामो समयदेखि संचालित भएपनि बालबालिकामा हुने कुपोषणमा कमी आउन सकेको छैन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कालिकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित, हुम्लामा पछिल्लो समय संयुक्त राष्ट्रसंघीय बाल कार्यक्रम (युनिसेफ) को आर्थिक सहयोगमा सञ्चालित एक कार्यक्रमले स्क्रिनिङ गरेको जिल्लाका ४ हजार २ सय २३ बालबालिकामध्ये १ हजार ३ सय ७९ अर्थात् ३२ दशमलब ५६ प्रतिशतमा कुपोषित रहेको देखिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका अनुसार बार्षिक तथ्याङ्क अनुसार ३ महिनाभन्दा माथि ५ वर्षभन्दा तलका ६१ प्रतिशत बालबालिका कुपोषित छन् । डोल्पा ११ प्रतिशत र जुम्लामा ९ प्रतिशत रहेको जनाएका छन् ।

सिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागु गरी कुपोषण न्यूनिकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले हाल जिल्लामा २ वटा बहिरंग सेवा केन्द्र थप गरी १० वटा बेहिरंग सेवा केन्द्र विस्तार गरेको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलिले बताए ।
‘धौलागोह, स्युना, मेहेलमुडी रकु, कुमालगाउँ, राँचुली, गेला स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा बहिरङ्ग उपचार केन्द्र संचालन गरिएको छ’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले हालै राम्नाकोट र सुकाटियामा पनि सेवा विस्तार गरी सुकाटियामा १६ जना कडा सिघ्र कुपाशित बालकालिकालाई उपचार दिइरहेको जिल्ला स्वास्थ्यका पोषण सम्पर्क व्यक्ति कटकबहादुर महतले बताए ।

कालिकोटमा कुपोषणका कारणले नै जिल्लामा ३ जना बालबालिका यसै आर्थिक बर्षमा ज्यान गइसकेको छ । मुगुमा कुपोषणको अबस्था भयावह छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याङ्क अनुसार ३ महिनाभन्दा माथि ५ वर्षभन्दा तलका ६१ प्रतिशत बालबालिका कुपोषित छन् ।

जिमा, रोवा, भीई, फोतु, नार्थपु, कार्कीबाडा, माग्री, सेरी, गम्था, हयाङलु गाविसका बालबालिका कुपोषणले ग्रसित छन् । रुगा गाविसमा कुपोषण हुनेको संख्या उच्च रहेको छ ।

जिल्लामा कुपोषणको अवस्था निकै डरलाग्दो रहेको र न्यूनिकरण गर्न नसक्दा नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका अधिकृत सरोज अधिकारीले बताए । ‘कडा कार्यक्रम लागू नगरेसम्म कुपोषण अन्त नहुने हुदैँन् ।’ उनले भने,–‘कुपोषण न्यूनीकरणका हामीले कुनै कसर बाँकी राखेका छेनौं ।’

कर्णालीमा कुपोषणको भयावह हुनुको कारण पोसिलो खाने कुरामा ध्यान नदिनु, सरसफाईमा कमी, जनचेतनाको अभाव रहेको छ ।

सेतो चामलको प्रयोग बढेपछि कुपोषण वृद्धि भएको स्थानीय ग्रामिण स्वास्थ्य क्षेत्रमा कार्यरत किशोरकुमार रावलले बताए । ‘कर्णालीमा कुपोषणको अवस्था भयाभह हुनुको कारणमध्ये पहिलो खानपानको कमी नै हो ।’ उनले भने,–‘स्थानीय बालीलाई प्रयोग गरेर कुपोषणको कमी ल्याउन सकिन्छ ।’

कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा बहिरंग सेवा संचालन ल्याइएको छ । सरकारले पहिलो चरणमा अञ्चलभरीका ५० वटा स्वास्थ्य चौकीमा कडा कुपोषणको शिध्र उपचारको लागि बहिरंग सेवा केन्द्र स्थापना गरिएका छन् ।

कयौं सरकारी तथा गैससहरुले कुपोषण कमी ल्याउन गर्भावस्थामा कुखुरा वितरण गर्ने, बच्चाहरुलाई सर्वोत्तम पिठो, लगाएतका बिभिन्न कार्यक्रम पनि संचालन गर्ने गरेका छन् ।