परम्परागत पोशाक लेहंगाको क्रेज

धनगढी उपमहानगरपालिका–७ देवहरियास्थित लेहंगा सिलाई सेन्टरकी सीता चौधरीलाई आजभोलि लेहंगा सिल्न भ्याइनभ्याई भएको छ । दशैंतिहार नजिकीए संगै लेहंगाको माग बढेपछि उनलाई लेहंगा सिल्नु र बिक्रि वितरण गर्नुको चटारो लागेको हो ।

‘सिजन सुरु भएको छ, आजभोलि लेहंगा, चोलो, बिलाउज सिउनमै समयै बिट्छ’, उनी भन्छिन्–‘ग्राहकको माग अनुसार लेहंगाको आपूर्ति गर्न सकिरहेका छैनौ ।’

करिब १० वर्षदेखि लेहंगा सिल्ने काम गर्दै आएकी सीताको प्रमुख पेशा नै आजभोलि लेहंगाको व्यापार बनेको छ । द्वन्द्व पीडित समेत रहेकी उनी महिनामा २० भन्दा वढी लेहंगा सिल्दै आएकी छिन् । उनको पसलमा बच्चादेखि बृद्धसम्मले प्रयोग गर्न मिल्ने लेहंगाको उपलब्धता रहेको छ । जसको मूल्य दुई हजार पाँच सयदेखि पाँच हजार रुपैयासम्म पर्ने चौधरीले बताइन् ।

पछिल्लो समय आदिवासी थारु समुदायको महिलाहरुको परम्परागत पोशाक लेहंगाको क्रेज सबै उमेर समूहमा उत्ति कै बढेको पाइन्छ । त्यो संगै बजारमा लेहंगाको माग उच्च भएको हो । फलतः लेहंगा प्रयोग गर्नु फेसनको रुपमा स्थापित भएको छ, भने अर्कोतिर लेहंगा सिल्ने हस्तकला व्यवसायको रुपमा फस्ताएको बताइन्छ ।

क्रियाशिल पत्रकार महिला कैलाली अध्यक्ष उन्नती चौधरी भन्छिन्–‘कुनै कार्यक्रम होस या चाडपर्वमा लेहंगा लगाउनुको मज्जा नै फरक हुन्छ । लेहंगा लगाउनु फेसन जस्तै भएको छ ।’ पछिल्लो यूवापिढीमा आफ्नो चालचलन, कलासंस्कृतिप्रतिको बढ्दै गएको जनचेतनाकै कारण परम्परागत पोशाक आधुनिक पोशाक बनेको पनि उनको भनाई छ ।

लेहंगाप्रतिको क्रेजकै कारण कतिपय थारुवस्तीमा अनिवार्य समेत बन्न थालेको छ । बच्चादेखि बृद्धिसम्मले एक जोर लेहंगा राख्नै पर्ने अवस्था समेत आएको बताइन्छ । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी प्रमिला चौधरीले हालै एउटी १४ र अर्की ५ वर्षिया छोरीहरुको लागि लेहंगा खरिद गरेको सुनाइन् । ‘बच्चाहरु लेहंगाकै लागि ढिपी गर्न थालेपछि सन्तान सुखकै लागि भएपनि पाँच हजार रुपैया खर्च गरी लेहंगा किनि दिएकी छु ।’

लेहंगाको लोकप्रियता बढेपछि लेहंगा सिलाई गर्नेहरुको जिविकोपार्जनको सशक्त माध्यम बन्न पुगेको छ । भजनी नगरपालिका–१ मधुवन मुक्तकमैया शिविरकी पूर्व कमैया दिलरानी चौधरीको लेहंगाको कारोबार फष्टाएपछि घर खर्चदेखि बालबालिकाहरुको शिक्षादिक्षा पूरा गर्न सहज भएको छ ।

धनगढी, वर्दियाको विभिन्न बजार, नेपालगञ्ज, राजधानीलगायत ठाउँमा लेहंगाको आपूर्ति गर्दै आएकी उनी वर्षमा ६÷७ लाख आम्दानी गर्दैको जानकारी दिइन् ।

लेहंगा बनाउनु पनि एक किसिमको कलात्मक सीप नै हो । एउटा लेहंगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्ने बताइन्छ । लेहंगा सिलाई सेन्टरकी सीता चौधरीको अनुसार लेहंगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहंगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोडेर बनाउनु पर्दछ । जसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पथ्थरलगायत टाँस्नु पर्ने उनले जानकारी दिइन् ।