बाढीले लखेटेपछि रातभर ओडारमा बास

लमजुङ । साढे एक महिनाी बालिका काखमा थिइन् । बाहिर मर्स्याङ्दी थुनिएको खबर फैलिइसकेको थियो । चामे गाउँपालिका–३ कोतोकी एसिका गुरुङ हस्याङफस्याङ गर्दै उकालो लागिन् । काखमा नानी, पछिपछि छोरा सुमन । घरमा बसिरहने अवस्था थिएन । कहाँ पुगेर रात काट्ने हो, टुंगो थिएन । ‘पहिल्यै पुग्नुपर्छ, नत्र बस्ने ठाउँ पाइँदैन’ उनलाई लागेको थियो । न खाने ठेगान थियो, न बस्ने ।

आइतबार अपराह्न मर्स्याङ्दी थुनिएको खबर आएपछि कोतो गाउँका बासिन्दा आ–आफ्ना घर छाडेर माथि जंगलतिर लागेका थिए । भोटेकोशी थुनिएर ठूलो क्षति भएको खबर उनीहरूले सुनिसकेका थिए । त्यही सम्झेर एसिका पनि अपराह्न ४–५ बजेतिर नानी च्यापेर गाउँमाथि उक्लिइन् ।

कोतोबाट करिब १०–१५ मिनेटको उकालो चढेपछि छितीपुरको जंगल पुगिन्छ । त्यहाँ पुग्दा धेरैजना जम्मा भइसकेका थिए । कसैले ओडार खोजेका थिए, कसैले पुरानो स्कुल भवन । कसैले बाहिर प्लास्टिक टाँगेका थिए । रात परेपछि जंगलमा चिसो बढ्दै गयो ।

साढे एक महिनाकी नानीलाई दूध खुवाउनुपर्ने । वरिपरि मानिसको भीड । बस्ने ठाउँ साँघुरो । नानीलाई काखमा राखेर रात काट्नुपर्ने । एसिकालाई झन् अप्ठ्यारो भयो । ‘नानीलाई दूध दिनुपर्छ । भीडभाड छ । साँघुरो ठाउँमा धेरै मान्छे । कसरी दिने रु साह्रै गाह्रो भयो,’ उनले भनिन् ।

पुरानो स्कुल भवनमा बस्ने व्यवस्था भयो । तर त्यहाँ पनि चिसो थियो । नानी काखमै थिइन् । रातभर आरामसँग बस्न सक्ने अवस्था थिएन । अन्ततः उनी राति नै घर फर्किइन् । ‘अब त केही हुँदैन होला । जे होला होला भनेर घर फर्किएको,’ उनले भनिन् ।

कोतोकी लक्ष्मी गुरुङका लागि पनि आइतबारको रात सहज बितेन । मर्स्याङ्दी थुनिएको खबर आएपछि गाउँ नै खाली भयो । हातमा भएको झोलामा जे पाइयो, त्यही बोकेर मानिसहरू जंगलतिर लागे । ‘मर्स्याङ्दी थुनियो भनेर फोन आएपछि कुदिहाल्यौं,’ लक्ष्मीले भनिन् ।

मर्स्याङ्दी थुनिएको खबरपछि ओडारमा रात विताएका मनाङको चामे गाउँपालिका–३ कोतोका बासिन्दा । तस्बिरः कान्तिपुर

आइतबार अपराह्न करिब साढे ४ बजेतिर उनीहरू जंगलतिर उक्लिएका थिए । ओडारमा ११ जना सँगै बसे । ठाउँ साँघुरो थियो । सबैलाई अटाउन सम्भव थिएन । कोही पुरानो स्कुलमा सुते, कोही बाहिर बसे । केहीले प्लास्टिक टाँगेर ओत बनाए । कोही रातभर आगो फुकेर बसे ।

बिहान उज्यालो हुन थालेपछि उनीहरू गाउँ फर्किए । करिब ४–५ बजेतिरै ओडार छाडेर तल झरेका थिए । लक्ष्मीका अनुसार बाढीले मर्स्याङ्दी वरपरको भूभाग खोतलेको थियो । नदी थुनिएको खबरपछि डराएर जंगल गएको उनले सुनाइन् ।

नासों गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङ पनि तालडाँडामै रोकिए । आइतबार दिउँसो तालडाँडा पुगेका उनले त्यहीं मर्स्याङ्दी थुनिएको खबर पाए । त्यसपछि उनी गाउँ फर्किन सकेनन् । कामदारसहित करिब ३५ जना तालडाँडा क्षेत्रमा रोकिएका थिए ।

प्रहरी सहायक निरीक्षक अमरबहादुर गुरुङ करिब ६० जना गाउँलेसहित तालगाउँमाथिको जंगलका ओडारमा पुगे । तर जंगल पनि सुरक्षित आश्रय बन्न सकेन । तालगाउँकी कान्छी गुरुङका अनुसार जंगलमा रात काट्न कठिन हुने देखिएपछि उनीहरू गाउँमाथिकै एउटा घरमा फर्किएर रात बिताए । ‘पहिले जंगलतिर गयौं । त्यहाँ रात काट्न गाह्रो हुने देखियो । जे होला होला भनेर पछि गाउँमाथिकै घरमा आएर रात काट्यौं,’ उनले भनिन् ।

नासों गाउँपालिका–३ धारापानीका बासिन्दाले पनि सुरक्षित ठाउँ खोज्दै रात बिताए । धारापानीकी खुस्बु गुरुङका अनुसार केही बासिन्दा ओडार गाउँतिर पुगे । कोही गाउँपालिकाको भवनमा बसे । केहीले ओडारमै रात कटाए ।

मर्स्याङ्दी उर्लिएर आएमा गाउँ बगाउन सक्ने त्रास थियो । बाढीले २०७८ मा सदरमुकाम चामे र धारापानीका घरहरू बगाएको थियो । त्यतिबेला गाउँपालिकाको कार्यालय, सुविधा सम्पन्न होटल र बैंकका कार्यालयसमेत बगाएको थियो । ‘माथि मर्स्याङ्दी थुनियो भन्ने खबर आयो । घरमा बस्नुभन्दा बाहिर निस्कनु नै सुरक्षित ठानेँ,’ उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार मर्स्याङ्दी थुनिएपछि तल्लो तटीय क्षेत्रमा समेत सूचना पुर्‍याएर जोखिम क्षेत्रबाट हट्न भनिएको थियो । ‘नदी थुनिएपछि तल्लो तटीय क्षेत्रसम्मै सूचना प्रवाह गरेर बसिरहेको ठाउँबाट हट्न भनिएको थियो,’ उनले भने । त्यसपछि स्थानीयले आफैं सुरक्षित स्थान खोजे । कसैले जंगल रोजे, कसैले ओडार । कसैले स्कुल र सरकारी भवनमा आश्रय लिए। कतिपयले आफन्त र चिनेजानेकाको घरमा रात बिताए ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सबैलाई सुरक्षित स्थानमा आउन आग्रह गरिए पनि केही स्थानीय आफुखुसी जंगलतर्फ गएको बताए । आइतबार दिउँसो घट्टेखोलामा आएको बाढी र पहिरोले मर्स्याङ्दी नदीको बहाव आंशिक रूपमा रोकिएपछि चामेमा त्रास फैलिएको थियो । घट्टेखोलासँगै आएको बाढी र पहिरो मर्स्याङ्दीमा थुप्रिएपछि नदीको बहाव रोकिएको थियो ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार घट्टेखोलाको बाढीपछि चामे बजार खाली गराएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । केहीलाई नेपाली सेनाको ब्यारेकमा राखियो । केही कोतोमाथिको पिकनिक क्षेत्रमा पुगे । कतिपयले आफैं सुरक्षित ठाउँ खोजे । केही ओडारमा गए ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार राति १० बजेसम्म माथिबाट पहिरो खसिरहेको थियो । ‘माथिबाट पहिरो खस्ने र खोलामा बाढी आइरहेको अवस्थामा हामीले सुरक्षित महसुस गरेनौं,’ उनले भने ।

कर्मचारीहरू कार्यालयमा तथा स्थानीयलाई नेपाली सेना, प्रहरीका ब्यारेक र अन्य सुरक्षित ठाउँमा राखिएको उनले बताए । सोमबार बिहान मर्स्याङ्दीको बहाव घटेसँगै जोखिम पनि घट्यो । त्यसपछि स्थानीय आ–आफ्नो घरतर्फ फर्किएको उनले बताए । कान्तिपुर दैनिकबाट ।