बजार खोज्दै धनगढी पुग्यो बाजुराको स्याउ

कैलाली । बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकाबाट बिहीबार एक ट्रक स्याउ धनगढी पु¥याएका किसान दानबहादुर रावललाई धनगढीमा पनि स्याउ बिक्री हुने हो कि होइन भन्ने चिन्ताले सताएको छ।

आफूसहित चार जना किसानको बारीबाट टिपेको स्याउ तीन दिनपछि धनगढी पुगेको छ। उनलाई धनगढी पुग्दा पनि बिक्री भएन भने के गर्ने भन्ने चिन्ताले थप पिरोलेको छ।

बाजुराको स्वामीकार्तिक खापर, बूढीनन्दा, हिमाली र जगन्नाथ गाउँपालिकाका किसानलाई पनि अहिले स्याउ टिप्ने चटारो छ। बारीबाट बजारसम्म पुर्‍याउन बाटो नभएपछि उनीहरू मारमा परेका हुन्।

रावलले बाजुराबाट धनगढी स्याउ पुर्‍याउन कर्णाली प्रदेशको बाटो रोजे। ‘कोल्टी–मार्तडी सडक बन्द छ। हामीलाई धनगढी स्याउ ल्याउन निकै समस्या भयो ’ उनी भन्छन्, ‘जेनतेन धनगढी ल्याएको स्याउ पनि बिक्री हुने हो कि होइन भन्ने चिन्ता छ। ’

रुपालिका कृषि फार्म चलाइरहेका रावलका ५०० बोटमा स्याउ फलेका छन्। बारीबाट बाटोसम्म उनीहरूले मानिसले बोकेर, खच्चरबाट र ट्याक्टरबाट पिलिचौरसम्म स्याउ ल्याइरहेका छन्। त्यहाँबाट पनि महँगो भाडामा धनगढीसम्म स्याउ पुगेका छन्।

‘नजिकको बजार ठूलो छैन। त्यहाँसम्म स्याउ किन्न व्यापारी पुग्दैनन्, त्यसैले हामी नै बजार खोज्दै धनगढी आएका हौँ’ रावलले भने, ‘यहाँ आएपछि त हाम्रो स्याउले बजार पाउला कि भन्ने लागेको छ। ’

स्वामीकार्तिकमा किलोको ३० देखि ४० रुपैयाँसम्म स्याउको मूल्य रहेको छ। रावलले धनगढीमा ती स्याउको मूल्य १२० रुपैयाँ निर्धारण गरेका छन्। बजारमा अहिले त्यही स्याउको फुटकर मूल्य ३०० रुपैयाँसम्म छ।

‘हामीले सस्तो पनि होस्, अर्गानिक पनि होस् भनेर मूल्य कम राखेका छौँ, ’ उनले भने, ‘यति स्याउ बिक्री भए अझै धेरै स्याउ बिक्री गर्नुपर्ने छ। ’

अहिले पहिलो चरणमा एउटा ट्रकमा ६७० कार्टुन स्याउ धनगढी पु¥याइएको छ। फेरि दुईवटा ट्रक धनगढी ल्याउने तयारी भइरहेको उनले बताए।

‘त्यहीँ राख्यो भने त स्याउ बिग्रन्छ। गाईबस्तुलाई खुवाउनुपर्छ, आफ्नो श्रम र ढुवानीको मात्रै मूल्य पाउँछु कि भनेर हामी धनगढीसम्म पुगेका हौँ, ’ उनले भने।

स्याउ उत्पादन हुने क्षेत्रमा सरकारले चिस्यान केन्द्र नबनाइदिदाँ दुई महिनाभित्रै जसरी पनि स्याउ बेच्नुपर्ने बाध्यता उनीहरूसँग छ। त्यसैले कहिले धनगढी, कहिले सुर्खेत त कहिले अन्य क्षेत्रमा पुगेर सस्तोमा स्याउ बेचिरहेका छन्। ती क्षेत्रमा पुग्न पनि सहज बाटो नहुँदा उनीहरूलाई सकस भइरहेको छ।

बाजुरामा गोल्डेन, डेलिसिएस, गाला, फुजी तथा स्थानीय जातका स्याउ उत्पादन हुने गर्छन्। किसानको स्याउ खेतीप्रतिको आकर्षण बढ्दै गएसँगै उत्पादन पनि बढिरहेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा हाल करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। अबका केही वर्षमा यो क्षेत्रफल १८० हेक्टरभन्दा बढी पुग्ने सम्भावना रहेको केन्द्रको अनुमान छ।

गत वर्ष बाजुरामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो। त्यसमध्ये करिब ६०० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए।

‘यो वर्ष स्याउ गत वर्षको भन्दा राम्रो फलेको छ। अहिले झण्डै ७०० मेट्रिक टनभन्दा बढी स्याउ बाहिर जाने सम्भावना देखिएको छ,’ विष्टले भने।

बाजुराको हावापानी र माटो स्याउ खेतीका लागि उपयुक्त भएकाले पछिल्लो समय यसको उत्पादनको सम्भावना उच्च रहेको विष्टको भनाइ छ।

मेहनत गरेर फलाएको स्याउ बिक्री गर्ने अपेक्षाले धनगढी पुगेका उनीहरू बिहीबार नै बाजुराको स्याउको माग बढेपछि भने खुसी भएका छन्। ट्रकबाट झर्न नपाउँदै रामबहादुर क्षेत्रीले पाँच पेटी स्याउ लिए।

‘बाजुरामा फलेको स्याउ अर्गानिक हुन्छ। मैले अब यही स्याउ बेच्छु’ उनले भने।

फलफूल व्यापार गर्दै आएका दुर्गादत्त भट्टले पनि बाजुराको स्याउको माग राम्रो भएको बताए। ‘मेरो स्वदेशी तथा विदेशी फलफूलको व्यापार छ, ’ उनले भने, ‘अब आफ्नै माटोमा फलेको स्याउलाई महत्त्व दिनुपर्छ। मैले सकेसम्म धेरै स्याउ किन्छु र बेच्छु।’

स्याउको बजार खोज्दै धनगढी पुगेका रावललगायतका किसानहरूले अहिले हसनपुरस्थित समर्पण पुस्तकपसल नजिक सकम्बरी मम सेन्टरमा स्याउ बेच्न राखिरहेका छन्। ‘हामीले ल्याएको ट्रकको भाडा महँगो भयो, त्यसैले पठाइदियौँ र धनगढीमा साथीको पसल अगाडि स्याउ राखेका छौँ, हेरौँ कति बिक्री हुन्छ, ’ उनले भने।

सधैँ सडककै सास्ती

बाजुरा बुढीनन्दा नगरपालिका–१० का नैन बोहराले पनि तीन पटक गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका छन्। आफ्नै जग्गासँगै अरूको जग्गा भाडामा लिएर समेत स्याउ खेती गरेका उनलाई पनि अहिले स्याउ कहाँ बेच्ने भन्ने चिन्ताले सताउन थालेको छ।

यस क्षेत्रमा ४० परिवारभन्दा बढीले स्याउ खेती गरिरहेका छन्। उनीहरूको उत्पादनसमेत वर्षेनी बढ्दै गएको छ। तर, बजार अभाव भने उस्तै छ।

पाण्डुसैनका शेरबहादुर रावतले लगाएका ८ हजार स्याउमध्ये दुई हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन्। उनलाई पनि अब स्याउ कहाँ बेच्ने भन्ने चिन्ता छ। यहाँ भदौदेखि स्याउ पाक्न थालिसकेको छ। तर बजार भने पाउन सकेको छैन।

बुढीनन्दाको पाण्डुसैनबाट मार्तडी हुँदै धनगढीसम्म स्याउ पु¥याउनुपर्ने हुन्छ। तर कोल्टी–मार्तडी सडकको दुरावस्थाका कारण किसानलाई स्याउ ढुवानी गर्न समस्या भइरहेको छ।

‘यहाँ उत्पादन भएको स्याउलाई बजार पुर्‍याउनै सबैभन्दा धेरै समस्या छ। हामीले यति मेहनत गरेर स्याउ लगाएका छौँ, त्यसलाई कसरी बजारमा पुर्‍याउने भन्ने चिन्ता छ,’ स्याउ उत्पादक कुम्भ बोहराले भने।

सडकको अवस्था राम्रो नभएकाले आफूले अहिलेसम्म स्याउ नटिपेको शेरबहादुर रावतले बताए। सडक मर्मत भएपछि स्याउ टिपेर बजारमा पुर्‍याउने उनको योजना छ।

यसअघि पनि समयमा स्याउ बजारमा पुर्‍याउन नसक्दा बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपरेको उनले सम्झिए। ‘पहिले पनि हामीले स्याउ बिक्री नभएर गाईबस्तुलाई खुवाएका थियौँ। अहिले पनि त्यस्तो नहोला भन्न सकिँदैन,’ उनी भन्छन्, ‘मार्तडी–कोल्टी सडक राम्रो नभएसम्म हामीलाई यही समस्या आइरहन्छ।’

स्याउ उत्पादन बढ्दै गएको छ तर, सडक पूर्वाधार कमजोर हुँदा किसानले उचित मूल्य पाइरहेका छैनन्। बारीमा लटरम्म फलेको स्याउ बजारसम्म सहज रूपमा पुर्‍याउन सके बाजुराका किसानको आम्दानीसँगै जिल्लाको स्याउ खेतीको व्यावसायिक सम्भावना अझ बढ्ने देखिन्छ।