भोटेकोशी बाढी : कति मानिस बेपत्ता छन् ?

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा रसुवा र नुवाकोटस्थित नदी तटीय क्षेत्रमा ठुलो मानवीय क्षति भएको छ ।

भोटेकोशीको बाढीमा परेर अहिलेसम्म ९०३ जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर कति जना बेपत्ता भए भन्ने अझै यकिन तथ्याङ्क छैन । सरकारका निकायहरूले अहिलेसम्म तथ्याङ्क सङ्कलन गर्न सकेका छैनन् ।

नेपाल–चीन सिमानामा पर्ने चीनतर्फको भन्सार कार्यालय र त्यसभन्दा माथिल्लो केरुङ बजार क्षेत्रमा गएका नेपाली नागरिकहरू कति बेपत्ता भए भन्ने तथ्याङ्क चीनले सार्वजनिक गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चीनतर्फ ९८ जना नेपाली बेपत्ता भएका छन् ।

रसुवामा सञ्चालित हाइड्रोपावरमा कार्यरत विदेशी नागरिक र घुम्न गएका धेरै विदेशी पर्यटक सम्पर्कविहीन छन् । तर, नेपाल सरकारले सम्पर्कविहीनहरूको यकिन तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन ।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियनसहित ३३२ जना ६ दिनदेखि सम्पर्कविहीन भएको प्रबर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार सुरुङमा ३ सय जना फसेका छन् । त्यहाँबाट सम्पर्कविहीन भएहरूको अवस्था सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाका, टिमुरेस्थित भन्सार कार्यालय र स्याफ्रुवेशी क्षेत्रमा बाढीले सबैभन्दा धेरै क्षति गरेको छ । त्यहाँ घर भएका, सरकारी निकायका कर्मचारी र व्यापारिक प्रयोजनको लागि सामान लिन त्यहाँ पुगेका धेरै मानिस सम्पर्कविहीन छन् ।

मोबाइलको रिङटोनमार्फत सरकारले सम्पर्कविहीन भएकाहरूको सूचना भएमा जानकारी दिन आग्रह गरिरहेको छ । काठमाडौँ र नुवाकोट हुँदै रसुवातर्फ कुन समयमा कति मानिस गएका थिए भन्नेबारे यकिन तथ्याङ्क प्रणाली नहुँदा सम्पर्कविहीनहरूको विवरण सार्वजनिक गर्न सम्भव नभएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

रसुवाको इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा कार्यरत २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी र रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन छन् । रसुवागढी अध्यागमन कार्यालयमा कार्यरत ३ जना कर्मचारी सम्पर्कमा आएका छैनन् ।

रसुवा र नुवाकोटमा सञ्चालनमा आएका र निर्माणाधीन ११ वटा आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ४ हजार २४७ जना सम्पर्कविहीन छन् ।

प्राधिकरण र प्रहरीको तथ्याङ्क नै फरक छ । प्रहरी प्रधान कार्यालयले ४ हजार ६०८ जना नागरिक सम्पर्कविहीन भएको जनाएको छ । आफन्त र अन्य स्रोतबाट पुष्टि गरेर तथ्याङ्क यकिन गरिएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।

बेपत्ताहरूको सूची सार्वजनिक गर्न ढिलाइ हुनुको कारणबारे डीआईजी काफ्लेले भने, ‘प्रकोप भनेको यही हो, सबै एकैपटक आउँदैन ।’

आपतकालीन अवस्था आइपरेको हुनाले विभिन्न कच्चा सूचनालाई भेरिफाई गरेर बेपत्ताको विवरण यकिन गर्ने गरिएको डीआईजी काफ्लेको भनाइ छ ।

प्राधिकरणका अुनसारबाट रसुवाका ८६५ जना, नुवाकोट नदी तट क्षेत्रका १५ सय ५८ जना, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुर घर भएर रसुवा गएका ६५ जना र विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक बेपत्ता छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र रसुवास्थित क्वारेन्टाइन कार्यालयका ३ जना बेपत्ता छन् ।

प्रत्यक्षदर्शी र प्रभावित परिवारहरूका अनुसार रसुवामा बाढीमा अझै मानिस सम्पर्कविहीन भएको आशंका गरिएको छ । तर, कर्मचारी र सुरक्षाकर्मीहरूको भन्दा बाहेक सरकारसँग सम्पर्कविहीनहरूको यकिन तथ्याङ्क नै छैन ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले प्रहरी र विपद् प्राधिकरणले सम्पर्कविहीनहरूको सूची यकिन गरिरहेको बताए ।

बाढीका कारण अलपत्र परेका १० हजार ४५१ जनालाई सुरक्षाकर्मीकहरूले उद्धार गरेका छन् । प्रभावितहरूको हवाई र स्थलमार्गबाट उद्धार गरिएको हो । हवाई उद्धारका लागि ४११ पटक हेलिकप्टर मार्फत उडान भरिएको प्राधिकरणले जनाएको छ । विपद्को छैटौँ दिन सोमबार पनि हेलिकप्टरमार्फत उद्धार भइरहेको प्राधिकरणले जनाएको छ । रातोपाटीबाट ।