लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर । २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यसयता चलेका मुद्दाका श्रृङ्खलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका लागि काम गर्नुपर्ने जनप्रतिनिधिले बताएका छन्। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर १ कैलालीको आयोजनामा टीकापुरमा भएको कार्यक्रममा बोल्दै जनप्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको सहादत र संविधानमा पहिचानको अधिकार माग्ने निहत्था थारू समुदायले मुद्दा खेप्नुपरेको दुवै अवस्था गलत भएको बताउनुभयो। उहाँले केही अधिकार प्राप्त भए पनि बाँकी अधिकारका लागि आवाज उठाउन नछाड्ने बताउँदै मन्त्रीको हैसियतले सङ्घीयताको संरक्षण र जनपक्षीय कानुन निर्माणमा प्रतिबद्ध रहने बताए ।

पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाका कारण पछि परेको टीकापुरले क्षतिपूर्ति पाउनुपर्ने बताए ।

“२०७४ मा निर्वाचित प्रतिनिधि रेशमलाल चौधरी जेल परेपछि टीकापुर क्षेत्र पाँच वर्ष पछि पर्‍यो। त्यसपछि उहाँकी श्रीमतीलाई जिताएर उहाँलाई छुटाउन लाग्दा पनि समय गयो,” प्रदेश सभा सदस्य चौधरीले भने, “हामी प्रदेश सरकारमा आएका छौँ। यसपटक टीकापुरका लागि प्रदेशले पर्याप्त बजेट दिनुपर्छ।”

थारू बहुल क्षेत्रमा पर्याप्त बजेट नदिए सुदूरपश्चिम प्रदेशमा बनेको ‘लाल सरकार’ ढालिदिने चौधरीले चेतावनी दिए ।

जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरीले संविधानमा पहिचानसहितको सङ्घीयताको माग गर्दै आन्दोलन भइरहेका बेला टीकापुरमा दशवर्षे द्वन्द्वमा समेत नभोगेको अकल्पनीय घटना भएको र त्यसको दोष थारू समुदायमाथि थोपरेको बताए ।

उनले भने, “यही आन्दोलनको रापतापले रेशमलाल चौधरीले २०७४ मा चुनाव जितु । उहाँ जेल परेपछि छुटाउन भन्दै उहाँकी श्रीमतीलाई चुनाव जिताए पनि अहिले पार्टी र चुनाव चिह्न नै हराएको छ।”

थरुहट आन्दोलनका अगुवा माधव थारूले राज्यले थारूमाथि गरेको दमनविरुद्धको आक्रोशका रूपमा टीकापुर घटना भएको बताउँदै घटनाको दिनलाई ‘विजय दिवस’का रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरे । तर थारू आन्दोलनलाई रेशमलाल चौधरीले आफ्नै बपौती वा निजी मामिलाका रूपमा लिन नहुने बताए ।

कार्यक्रममा थारू पहिचानसहितको सङ्घीयता, पूर्ण समावेशी व्यवस्था, टीकापुर घटनालाई राजनीतिक घटनाका रूपमा लिएर थारू युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने तथा टीकापुर घटनाको अध्ययन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने माग थियो।

प्रमुख अतिथिका रूपमा बोल्दै कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले इतिहासबाट पाठ सिकेर भविष्यको तयारी गर्नुपर्ने बताए ।

“थारू समुदायले न्याय र अधिकार पाउनुपर्छ, लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने माग लिएर म पनि सडक सङ्घर्षमा लागेकी थिएँ,” सदस्य ज्ञवालीले भने, “सरकारले अध्ययन गरिरहेको छ। प्रतिवेदन सार्वजनिक हुन्छ। इतिहासले दिएको पीडालाई प्रतिशोध र राजनीतिक सौदाबाजीका रूपमा नभई लोकतान्त्रिक अभ्यासमार्फत माग पूरा हुनुपर्छ।”

नागरिक उन्मुक्ति पार्टी नेपालको आयोजनामा भएको छुट्टै कार्यक्रममा रेशमलाल चौधरीले पनि २०७२ सालमा भएको टीकापुर घटनाले टीकापुरको विकासलाई २०५२ सालतिर धकेलेको बताए ।

टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउदको शालिकमा माल्यार्पण गर्दै चौधरीले टीकापुर घटनामा बाह्य तत्वले खेलेर आफूलाई फसाएको दाबी गर्दै आफू टीकापुरको विकासमा लागिरहने बताए । पार्टीको ब्यानरमा कार्यक्रम गरेको भन्दै थारू कल्याणकारिणी सभाका नेता तथा जनप्रतिनिधिले भने रेशमलाल चौधरीको विरोध गरेका थिए ।