महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा करिब पाँच वर्ष बढी बाँच्न सक्नुहुन्छ।

किन महिलाहरू पुरुषभन्दा लामो समय बाँच्छन् भन्ने प्रश्नको स्पष्ट उत्तर वैज्ञानिकहरूसँग अझै छैन। तर जैविक संरचना, जीवनशैली, खानपान, स्वास्थ्यप्रति अपनाइने व्यवहार र सामाजिक कारणहरूले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको निष्कर्ष छ।

यही अध्ययनहरूले केही चराचुरुङ्गीजस्ता प्रजातिमा भने किन पोथीभन्दा भालेको आयु बढी हुन्छ भन्ने कुरा बुझ्न पनि सहयोग गरिरहेका छन्।

पुरुषको जीवनशैलीले आयु घटाउन सक्छ

बेलायतको अक्सफोर्ड इन्स्टिच्युट अफ पपुलेसन एजिङकी निर्देशक प्रोफेसर सारा हार्परका अनुसार संसारका लगभग सबै देशमा महिलाहरू पुरुषभन्दा लामो समय बाँच्छन्।

तर यो अन्तर सबै देशमा समान छैन। उदाहरणका लागि, रुस, युक्रेन र भियतनाममा महिलाहरू पुरुषभन्दा करिब १० वर्ष वा त्योभन्दा बढी बाँच्छन्। नाइजेरियाजस्ता देशमा भने यो अन्तर निकै कम छ।

वैज्ञानिकहरूका अनुसार यसको एउटा प्रमुख कारण सामाजिक र व्यवहारगत पक्ष हो।

प्रोफेसर हार्परका अनुसार रुसमा पुरुषहरूको धूम्रपान र मदिरा सेवनको उच्च दर यसको मुख्य कारणमध्ये एक हो।

उनका अनुसार विश्वभर पुरुषहरूमा स्वास्थ्यलाई हानि पुर्‍याउने बानीहरू बढी देखिन्छन्। उनीहरूको खानपान तुलनात्मक रूपमा कम स्वस्थ हुन्छ र बिरामी पर्दा पनि चिकित्सककहाँ जान हिच्किचाउने प्रवृत्ति बढी हुन्छ।

उनका अनुसार विवाहित पुरुषहरूलाई यसमा केही फाइदा हुन्छ, किनकि उनीहरूका जीवनसाथीले स्वास्थ्यप्रति बढी चासो दिने र आवश्यक पर्दा अस्पताल वा चिकित्सककहाँ लैजाने गर्छन्।

यसका साथै धेरै समाजमा पुरुषहरूले जोखिमपूर्ण काम गर्ने, जोखिम लिनुलाई पुरुषत्वसँग जोड्ने संस्कार हुने भएकाले उनीहरूमा सडक दुर्घटना, हिंसा, हत्या तथा आत्महत्याबाट हुने मृत्युको दर पनि बढी हुन्छ।

यद्यपि, यो अवस्था क्रमशः परिवर्तन हुँदै गएको छ। बेलायतमा सन् १९६० र १९७० को दशकमा धूम्रपानविरुद्धका अभियानपछि पुरुषहरूको अकाल मृत्युमा उल्लेखनीय कमी आएको प्रोफेसर हार्पर बताउँछिन्।

एस्ट्रोजनः महिलालाई जोगाउने हर्मोन

स्पेनको भ्यालेन्सिया विश्वविद्यालयकी फिजियोलोजिस्ट प्रोफेसर कोन्सुएलो बोरासका अनुसार महिलाको शरीरमा हुने एस्ट्रोजन हर्मोनले धेरै सुरक्षात्मक भूमिका खेल्छ।

उनका अनुसार एस्ट्रोजनलेः
–कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ।
–प्रतिरक्षा प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ।
–मूत्र संक्रमणको जोखिम कम गर्छ।
–मस्तिष्क र हड्डीको सुरक्षा गर्छ।
–शक्तिशाली एन्टिअक्सिडेन्टका रूपमा काम गर्दै शरीरमा बन्ने हानिकारक ‘फ्री रेडिकल’लाई नियन्त्रण गर्छ।

उनी मेनोपजको उदाहरण दिँदै भन्छिन्, मेनोपजपछि एस्ट्रोजनको मात्रा घट्दा शरीरका विभिन्न प्रणालीमा असर पर्न थाल्छ।

एस्ट्रोजनको कमीले अस्टियोपोरोसिस ९हड्डी कमजोर र खोक्रो हुने रोग०को जोखिम पनि बढाउँछ। मेनोपजको सुरुआती चरणमा हर्मोन थेरापी दिँदा महिलाको स्वास्थ्यमा सकारात्मक सुधार देखिने उनले बताएकी छन्।

टेस्टोस्टेरोनले पनि भूमिका खेल्न सक्छ

पुरुषको मुख्य यौन हर्मोन टेस्टोस्टेरोनलाई बढी जोखिमपूर्ण व्यवहारसँग जोडिन्छ।

प्रोफेसर बोरासका अनुसार यसले शरीरमा केही नकारात्मक प्रभाव पार्न सक्छ भन्ने आशंका भए पनि यसको स्पष्ट वैज्ञानिक कारण अझै पत्ता लागेको छैन।

सन् २०१२ मा गरिएको एक अध्ययनमा परम्परागत कोरियाली नपुंसकहरूको आयु सामान्य पुरुषहरूको तुलनामा १४ देखि १९ वर्ष बढी रहेको पाइएको थियो। उनीहरूको शरीरमा टेस्टोस्टेरोन उत्पादन नहुने भएकाले यस्तो परिणाम आएको हुन सक्ने अनुमान गरिएको थियो।

यद्यपि, यो अध्ययनका सीमितता रहेकाले यसबाट अन्तिम निष्कर्ष निकाल्न सकिँदैन।

क्रोमोजोम र जीवनसाथीको भूमिकासमेत महत्त्वपूर्ण

जर्मन अनुसन्धानकर्ता जोहाना स्टार्कका अनुसार मानिस मात्र होइन, सिंह, भेडा, ह्वेल र मुसाजस्ता धेरै स्तनधारी प्रजातिमा पनि पोथीको आयु भालेभन्दा बढी हुन्छ। तर चराहरूमा भने यसको उल्टो देखिन्छ।

उनका अनुसार स्तनधारी पोथीमा दुईवटा एक्स क्रोमोजोम हुन्छन्। एउटा एक्समा समस्या आए अर्कोले त्यसको क्षतिपूर्ति गर्न सक्छ। पुरुषमा भने एउटा एक्स र एउटा वाई क्रोमोजोम मात्र हुने भएकाले एक्समा समस्या आए त्यसको असर बढी पर्न सक्छ।

चराहरूमा भने भालेसँग दुईवटा जेड क्रोमोजोम हुने भएकाले त्यहाँ भालेको आयु बढी देखिन सक्छ।

स्टार्कको सन् २०२५ मा प्रकाशित अध्ययनले अर्को रोचक तथ्य पनि देखाएको छ।

एकनिष्ठ ९एक जीवनसाथी हुने० प्रजातिमा भाले र पोथीको आयुमा खासै अन्तर हुँदैन। तर सिंह र गोरिल्लाजस्ता धेरै जीवनसाथीका लागि प्रतिस्पर्धा गर्ने प्रजातिमा भने यो अन्तर धेरै हुन्छ।

उनका अनुसार प्रजननका लागि भालेले बलियो शरीर, सिङ वा अन्य विशेषता विकास गर्न धेरै ऊर्जा खर्च गर्छ, जसले उसको आयु घटाउन सक्छ। अर्कोतर्फ पोथीको लामो समयसम्म बाँच्नु सन्तानको हेरचाहका लागि लाभदायक हुन्छ।

लामो आयु भनेको सधैं स्वस्थ जीवन होइन

महिलाहरू पुरुषभन्दा लामो समय बाँचे पनि उनीहरूमा मृत्यु नहुने तर जीवनभर दुःख दिने रोगहरू बढी देखिन्छन्। जस्तै, ढाड दुख्ने समस्या, टाउको दुखाइ, छालासम्बन्धी रोगहरू लगायत।

प्रोफेसर हार्परका अनुसार महिलाको प्रतिरक्षा प्रणाली बलियो भए पनि त्यसैले छालासम्बन्धी रोगको जोखिम बढाउन सक्छ। साथै उनीहरूको मांसपेशी र हड्डीको संरचना पुरुषको तुलनामा केही कमजोर हुन्छ।

उनको निष्कर्ष छ, ‘पुरुषको जैविक संरचनाले उनीहरूलाई मृत्युको जोखिमतर्फ बढी संवेदनशील बनाउँछ भने महिलाको जैविक संरचनाले उनीहरूलाई दीर्घकालीन अशक्तता र स्वास्थ्य समस्यातर्फ बढी संवेदनशील बनाउँछ।’

तर तीनै विशेषज्ञको जोड एउटै छ(जैविक संरचनाले मात्र सबै कुरा निर्धारण गर्दैन।

प्रोफेसर बोरासका अनुसार स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन महिला र पुरुष दुवैका लागि उत्तिकै आवश्यक छन्। यी बानीहरू केवल लामो आयुका लागि होइन, स्वस्थ र गुणस्तरीय जीवनका लागि पनि महत्त्वपूर्ण हुन्छन्।