किसानको आँसुको व्यापार नगर्नूस्ः सांसद कठरिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिश्मा कठरियाले सरकारलाई किसानको आँसुको व्यापार नगर्न अनुरोध गरेका छिन् । उनले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरुले लाचार महसुस हुनु परेको बताउँदै किसानको समस्या सामाधानमा सरकार ध्यान दिनुपर्ने बताईन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, हनहनी ज्वरो आउँदासमेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय १ किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल छ भनिरहने अवस्थाको अन्त्य कहिले हुने हो भन्ने प्रश्न गरिन् ।

उनले अन्नदाताहरु भनिरहेका कुरा जस्ताको त्यस्तै संदनसम्म पुर्याउँदै भनिन्ः बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार ।

यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मलसमेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा आफूलाई पीडा भइरहेको उनले बताईन् । सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गर्नुपर्ने पनि उनको तर्क थियो ।