लुम्बिनी प्रदेश सभाबाट थारू विधेयक पारित

दाङ । लुम्बिनी प्रदेश सभाबाट ‘थारू समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत पारित भएको छ ।

प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत १८ औँ बैठकबाट सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरेको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत पारित भएको हो । थारू समुदायको मौलिक परम्परा, संस्कृति र सामाजिक अभ्यासको संरक्षण तथा प्रवर्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक पारित भएको बताइएको छ ।

विधेयकबाट थारू समुदायको परम्परागत रूपमा प्रचलित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर र भलमन्सालगायतको मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्धन र पुस्तान्तरणको लागि आवश्यक कानुनी व्यवस्था गरेको छ ।

प्रदेश सरकारले यो विधेयकमार्फत थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान, सामाजिक संरचना ओ सांस्कृतिक अभ्यासके संरक्षण र प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।