डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम सम्पन्न

कैलाली । पछिल्लो समय साईबर अपराधका घटना बढ्दो क्रममा रहेको र सो अपराधबाट गाउँघरका सोझासिधा स्थानीयहरुपनि प्रभावित बन्दै गएको समस्याबाट सचेत बनाउन डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

कैलारी गाउँपालिका वडा नं. ३ को कार्यालयको आर्थिक सहयोगमा संघारी मल्टिपल सर्भिस एण्ड रिसर्च प्रा.लि.को आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि वडा सदस्य सैतु चौधरी रहेका थिए ।

उनले आफ्नो वडा भित्रका स्थानीयहरुलाई डिजिटल अपराधबाट जोगाउनकोलागि यस्तो कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष सैतु चौधरी बताउँछन् ।

उनले वडाको बजेटबाट भौतिक विकासको काम मात्रै नभई मानवीय विकासमापनि खर्च गर्दै आएको जानकारी दिए ।

यस्तै कार्यक्रममा वडा सदस्य पार्वति विक, वडा सदस्य सकुन्तला चौधरीले वडामा समय अनुसार हिंसाका प्रकारहरुपनि फरक फरक देखा पर्ने भएकोले साईबर अपराधबाट बच्न यहाँका स्थानीयलाई सचेत हुन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका साईबर ब्यूरोका जिवन चौधरीले डिजिटल हिंसाको बारे प्रशिक्षण दिएका थिए । उनले पछिल्लो अवस्थामा डिजिटलबाट धेरै मान्छे हिंसा, ठगी, अपराधको जोखिमा रहेको बताए ।

यस्तै कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवति कुमारी चौधरीले प्रशिक्षण दिदै न्यायक समितिमा पनि डिजिटल हिंसाबाट प्रभावित भएकाहरु न्यायकोलागि आउने गरेको जानकारी दिईन् ।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सुरक्षाको कुरालाई पनि ध्यानमा राखि सामाजिक सञ्जाल चलाउन अनुरोध गरिन् । साथै कोही मान्छे आफू साईबर अपराध वा हिंसाको जोखिममा पर्न थालेको थहाँ पाएमा तुरुन्तै सम्बधित निकायलाई जानकारी गराउन सुझाब दिईन् ।

कार्यक्रममा गाउँको भलमन्सा, आमा समुहका प्रतिनिधि, महिला नेतृत्व, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उनीहरुले अगामी दिनमा कैलारी गाउँपालिकाले बालबालिकाहरुलाई लक्षित गरेर यस्तो कार्यक्रम सञ्चालन गर्न सुझाब दिएका थिए ।