सुदूरपश्चिम प्रदेशले ल्यायो हालसम्मकै सबैभन्दा बढी बजेट
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ । प्रदेश सरकारले यो वर्ष हालसम्मकै सबैभन्दा बढी बजेट ल्याएको हो ।
आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गरेका छन् । सरकारको यो बजेट हालसम्मकै सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार बढाएको जनाइएको छ ।
प्रदेश सरकारले बजेट सार्वजनिक गर्नका लागि सुरुमा दिनको पाँच बजे प्रदेश सभाको बैठक बोलाइएको थियो तर सत्तारूढ दल नेकपा (एमाले) ले सिफारिस गरेका आयोजना, प्रदेश सभा सदस्यका क्षेत्रगत योजना र मन्त्रालयगत बजेट व्यवस्थापनका विषयमा असहमति जनाएपछि बैठक राति सारिएको थियो । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले भने मध्यराति बजेट प्रस्तुत गर्नु परेका कारण खोजी गर्दै सभाको बैठक बहिष्कार गरी बाहिरिएको थियो ।
यसअघि पहिलो बजेटका रूपमा प्रदेश सरकारले आर्थिक वर्ष २०७४र७५ मा एक अर्ब दुई करोड पाँच लाखको आंशिक बजेट ल्याएको थियो । यसै गरी आर्थिक वर्ष २०७५र७६ मा २५ अर्ब छ करोड ५६ लाख, आर्थिक वर्ष २०७६र७७ मा २९ अर्ब २३ करोड ३० लाख, आर्थिक वर्ष २०७७र७८ मा ३४ अर्ब ६४ करोड ३९ लाख रुपियाँ यो प्रदेशको बजेट रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८र७९ मा ३१ अर्ब १७ करोड ५६ लाख, आर्थिक वर्ष २०७९र८० मा ३६ अर्ब ३३ करोड ८९ लाख, आर्थिक वर्ष २०८०र८१ मा २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट प्रदेश सरकारले ल्याएको थियो । आर्थिक वर्ष २०८१र८२ मा ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको थियो । सरकारको चालु आर्थिक वर्षको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।













