स्थानीय र प्रदेश सरकार मिलेर काम गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले स्थानीय र प्रदेश सरकार मिलेर काम गर्नु बताए । स्थानीय सरकारको अनुभव र उपलब्धिबारे अग्रलेख मल्टिमिडियाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले यस्तो बताएका हुन् ।
उनले भने ‘सम्भावनाका हिसाबले सुदूरपश्चिम प्रदेशमै सबैभन्द अग्र स्थानमा छ, अब सुदूरपश्चिमलाई स्थानीय र प्रदेश सरकार मिलेर सुन्दर बनाउनुपर्छ ।’
उनले तीन तहका सरकारले गर्ने काम प्रष्ट रुपमा छुट्याएको बताउँदै सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘स्थानीय, प्रदेश र संघीय सरकारले गर्ने काम प्रष्ट छुट्याइएको छ,’ उनले भने । संघीयतालाई सफल पार्न र सबै क्षेत्रमा विकास गर्नको लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।
‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित दोस्रो संस्करणको उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहको असल अभ्यास प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तहहरु र युनिसेफको सहकार्यमा कार्यक्रम भएको हो ।













