सुदूपश्चिम प्रदेश सरकार बडघर भल्मन्सा ऐन ल्याउने तयारीमा

कैलाली । थारू समुदायमा प्रचलित भल्मन्सा प्रथालाई कानुनी व्यवस्थामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माण गर्न थालेको छ ।

सरकारले बडघर भल्मन्सा प्रथाको संरक्षण, प्रवर्धन एवं विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बडघरभल्मन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने आदिवासी थारू समुदाय परम्परादेखि प्रचलनमा रहेको यो प्रथाको संरक्षण, प्रवर्धन र विकास गर्न प्रथाजनित साङ्गठनिक प्रणालीको क्षेत्राधिकार र कार्यप्रक्रिया व्यवस्थित गर्न ऐन दबाब दिएका थिए ।

यसले प्रथासँग सम्बन्धित विभिन्न खेल, परम्परा र सांस्कृतिक प्रचलनको नियमनका लागि कानुनी व्यवस्था गर्ने छ । कला, संस्कृति, संस्कार जोगाउने जिम्मा प्रदेश सरकारको रहेको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए।

बडघर भल्मन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा सरकारले सम्बन्धित समुदायका अगुवाहरुसंग छलफल गरेको मन्त्री खड्काले जानकारी दिए ।

यो प्रथाले सामाजिक कार्यमा लगनशीलता, एकता, सबैको सहभागिता र लोकतान्त्रिक पद्धति अँगालेको बताए ।