बालविवाह न्यूनीकरणकोलागि सम्वाद
कैलाली । कैलारी गाउँपालिकाको हसुलियामा बालविवाह न्यूनीकरणकोलागि सरोकारवालासंग सम्बाद गरिएको छ ।
उक्त सम्बाद कार्यक्रममा कैलारी गाउँपालिका न्यायिक समितिको आयोजनामा केर्नी मिडिया प्रालिले समन्वय गरेको थियो । साथै दलित महिला अधिकार मञ्च, फोर्स नेपाल, ओरेक कैलाली, सहास नेपाल र बहुउदेश्य विकास समाजले समन्वय गरेका थिए ।
कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, हसुलिया ईलाका प्रहरी कार्यालयका इन्चार्ज साउनसिंह भाट, दलित महिला अधिकार मञ्च नेपाल किशोरी शसक्तिकरण परियोजनाका प्रमुख विमला कडायत प्रमुख वक्ता रहेका थिए भने केर्नी मिडिया प्रा.लिका अध्यक्ष उन्नती चौधरीले सहजीकरण गरेका थिईन् ।
सम्बाद कार्याक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष चौधरीले गाउँपालिकामा बालविवाह व्याप्त रहेको बताउँदै सबै जना समन्वय र सहकार्य गरि सयूक्त प्रयासमा न्यूनिकरण हुन सक्ने विश्वास दिलाईन् ।
गाउँपालिकाको दुई बर्षको तथ्यांकलाई हेर्दा २३८ जना बालिका बालविवाह गरेको देखिन्छ । बालविवाह सामाजिक मुद्दा रहेकोले भौतिक विकासमा मात्रै होई मानवीय विकासमापनि समाज अग्रसर हुन जरुरी रहेको बताईन । उनले भौतिक विकाससंगै सामाजिक विकासपनि संगसंगै लैजानुपर्ने बताईन् । समाजमा बालविवाहलाई मान्यता दिनकोलागि पर्छौटी (भोज) गर्ने चलन व्यापक रहेको बताउँदै उमेर नपुग्दै विबाह गर्ने बालबालिकाहरुलाई रोक्ना आवश्यक रहेको बताईन् ।
सामाजिक अभियन्ता तथा तथा दलित महिला अधिकार मञ्चद्धारा संचालित किशोरी सशक्तीकरण परियोजनाको प्रमुख कडायतले बालविवाहको कारण बालबालिकाहरुको पढाईमा बाधा आईरहेको बताईन् । साथै उमेर नपुग्दै बच्चा जन्मिने र ती बच्चाको जन्मदर्तामा समस्या, बच्चा र आमा दुबै जनाको स्वास्थ्यमा समस्या, परिवारका आर्थिक समस्यासंगै कोहल बढ्दै जाने समस्या विकराल बन्दै गईरहेको उनले बताईन् ।
उनले भनिन्, समुदायमा पढेलेखेका व्यक्ति नभएपछि दक्ष जनशक्ति उत्पादनमा पनि समस्या हुने बताईन् । सामाजिक कलह, परिवारिक द्वन्द्व, घरेलु तथा महिला हिंसाका घटना बढ्दै जानु जस्ता समस्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको उनले बताईन् ।
बालविवाह अपराध हो भन्ने कानून हुँदापनि बालविवाहको घटनाबारे प्रहरीमा कुनै खालको उजुरी नआउने तथा उजुरी परिहालेपनि प्रायः मेलमिलाप गर्ने बताईन् । बालविवाहले पछिल्लो पुस्ता सखाप हुदै गईरहेको उनको तर्क थियो ।
इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख सावनसिंह भाटले बालविवाह सम्बन्धी कुनैखालको तथ्यांक ईलाकामा नरहेको बताई । उनले गाउँघरमा बालविवाह हुन लागेको देखेपछि प्रहरीलाई जानकारी गराउन अनुरोध गरे । इप्रकामा उमेर नपुग्दै बालबालिका बेपत्ता हुने जस्ता मुद्दा भने आईरहेको जानकारी दिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीले बालविवाहले समाज कुरुप बन्दै गईरहेको बताए । उनले भने, बालविवाहका कारण समाज झनझन पछाडी धकेलिरहेको छ । यसको असर सिंगो समुदाय र पालिकालाई पर्ने बताए ।
कैलारी गाउँपालिका वडा नम्बर १ हसुलिया गाउँका भल्मन्सा मनोज चौधरीले नयाँ प्रविधिको दुरुपयोगले बालविवाह बढेको हो कि भन्ने आशंका व्यक्त गरे । बालविवाह न्यूनीकरण गर्ने अभिभावक जागरुक हुनुका साथै विद्यालयमा पनि शिक्षा प्रणाली परिवर्तनमा जोड दिनुपर्ने बताए ।
उनले सबै भल्मन्साहरु मिलेर सचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको बताउँदै गाउँघरमा कोई नयाँ विबाह गर्न चाहने जोडीलाई सोधपुछ गर्न जरुरी रहेको बताए । वडा नम्बर ५ बैसपुरको भल्मन्सा ओमप्रकाश चौधरी गाउँघरमा बालविवाहको कारण उनीहरुबाट जन्मेको बच्चाहरुको जन्मदर्तामा समस्या आईरहेको बताए ।
कैलारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख बालकुमारी चौधरीले कैलारी गाउँपालिका वडा ४, ५ ओ ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको बताईन् । घोषणा गर्नकोलागि ५१ व्टा सूचक पुरा गर्नुपर्ने र उक्त सूचक पुरा गर्नकोलागि केही काम बाँकी बताईन् । बालमैत्री वडा घोषणामा बालविबाह न्यूनिकरणको पनि सूचक रहेको छ ।
गाउँपालिकाले बालसंरक्षण निति, बाल संजाल गठनको साथै विद्यालय स्तरमा बालविवाह न्यूनिकरण सम्बन्धी कार्यक्रम गर्दै आईरहेको छ । गाउँमा हानिकारक प्रथा, विद्यालय छोड्ने, लागु औषध दुव्र्यशनीमा फस्ने जस्ता समस्या व्यापक देखा परेको उनले बताईन् ।
गाउँपालिकाले विद्यालय छोडेका यूवाहरुलाई व्यस्त बनाउन सीपमुलक तथा आयमुलक आयआर्जन सम्बन्धि कार्यक्रममा सहभागि बनाइ रहेको बताईन् । नेपाल सरकारले विबाह गर्ने उमेर २० वर्ष तोकेको छ । तर, यूवायूवतीहरु विद्यालय छोड्ने र बालविवाह गर्नेबाट रोक्न सक्ने बताईन् ।
पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीले थारु समुदायमा उमेर नपुग्दै बालबालिकाहरु लिभिङ टुगेदरमा बस्ने विकृति बढ्दै गईरहेको बताईन् । बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउने आमा र बच्चा समस्यामा परेको बताईन् ।
विद्यार्थी ममता जैसि बालविवाह रोकेकालागि अभिभावक जागरुक हुनुपर्ने बताईन् । उनले भनिन्, पहिला आफ्नो बालबालिका माथि निगरानी नगर्ने, जब बच्चा गलत बाटोमा लाग्छ अनि मात्रै सुर्धान खोज्यो भने समस्या झन बल्झिना सक्ने बताईन् ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका, नागरिक समाजका अगुवा, भल्मन्सा, अभिभावक, यूवा संजाल, किशोरी लगायतको सहभागिता रहेको थियो ।













