एकल महिलालाई आर्थिक रुपले सशक्त बनाउन आवश्यक छ : राज्यमन्त्री खडका

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले एकल महिलाहरुलाई आर्थिक रुपले शसक्त बनाउन आवश्यक रहेको बताईन् ।

मानव अधिकारका लागि महिला एकल महिलाको आयोजना तथा कुर्वे विष्ट्रोके सहयोगमा नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण सम्बन्धी दुई दिने प्रदेश स्तरीय कार्यशाला गोष्ठी शुरु भएको छ । कार्यक्रममा उनले एकल महिलालाई धेरै संघर्ष गर्नुपरेको बताईन् । उनले एकल महिला आर्थिक रुपले सशक्त हुन सके उनीहरुमाथि हुने हिंसा न्यूनिकरण हुने बताईन् ।

राज्यमन्त्री खड्का आफू प्रदेश सभा सदस्य भएदेखि नौ वटै जिल्लाका महिलाहरुको मुद्दा उठाइ रहेको बताउँदै भनिन्, प्रदेशमा एकल महिला मात्रै होईन महिला भएकै कारण अरु महिलापनि पीडामा रहेको बताइन् ।

सामाजिक विकास समितिका सभापति धर्मराज पाठक महिलाहरुको समान कामको समान ज्याला अनिवार्य गर्न जरुरी रहेको बताए । अहिलेपनि पुरुषप्रधान, समान्तवादले समुदायमा जरा गाडेर बसेको छ, जसलाई हटाउन एकदमै जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य खेमा विष्ट , सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मानबहादुर कार्की, फाया नेपालका अध्यक्ष गोमा आचार्य, यूएनडीपिका प्रदेश प्रमुख बैजन्ती गिरी, इन्सेक प्रदेश संयोजक खडकराज जोशी लगायतले आफ्नो धारण राखेका थिए ।

मानव अधिकारका लागि महिला एकल महिलाका सुदूरपश्चिम अध्यक्ष भगवती हमालको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।