थारु लेहंगाले ग्रामीन महिलालाई स्वरोजगार बनायो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीका सावित्री चौधरीले दुनाटपरी बनाउने तालिम लिएपछि स्वरोजगार तर्फ लम्किरहेका छन् । उनले सालका पातको दुनाटपरी बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । अचेल सावित्रीको दिन जङ्गलबाट सालका पात टिपेर ल्याउने र मेसिनबाट दुनाटपरी बनाउने काममा व्यस्त छिन् ।

उनले भनिन्, “नगरपालिकाले दिएको तालिमपछि हामी घर बसी बसी आम्दानी गर्न थालेका छौँ ।” उनले बनाएको दुनाटपरी अहिले स्थानीय बजार हुँदै अत्तरिया, धनगढीसम्म जाने गर्छ । अहिले उनलाई फोनमार्फत दुनाटपरी अर्डर आउन थालेको छ । अर्डर अनुसार दुनाटपरी तयार गर्ने गरेको उनले जानकारी दिईन् ।

दुनाटपरी बनाउने मेसिन नगरपालिकाले सहयोग गरेको हो । सावित्रीसँगै अन्य सात महिला यहि काममा लागेका छन् । उनीहरु मासिक लगभग २५ हजार रुपियाँसम्म आम्दानी गर्ने गर्दछन् ।

घोडाघोडी नगरपालिका–७ कै २९ वर्षीय ज्ञानी चौधरीले १२ कक्षासम्म मात्रै पढ्न पाईन । बेरोजगार बस्नुभन्दा हातमा सिप भए केही गर्न सकिन्छ भन्ने सोचले उनी सिलाइकटाइ तालिम लिईन् । सामान्य लुगाफाटो सिलाउदापनि पैसा आउन थालेपछि उनी सिलाईकटाई लाई पेशा बनाईन् ।

अहिले उनी थारू परम्परागत पोसाक लेहङ्गा चोलिया सिउने गरेका छिन् । यहाँबाट उनको आम्दानी ह्वात्तै बढेको छ । उनले भनिन् “ब्लाउज, पेटिकोट सिलाउँदा दुई सयसम्ममा आउँछ । तर एउटै लेहङ्गा १० हजारसम्ममा बिक्री हुन्छ । अहिले थारू लेहङ्गा फेसनकैरुपमा बजार लिएको छ ।”

उनी अडर अनुसार साइज र डिजाइनको पाँच हजारदेखि १० हजार रुपियाँसम्मको लेहङ्गा बनाउछिन् । आफूले आम्दानी गर्न थालेपछि अहिले घरखर्च तथा खेतीपातीमा लाग्ने खर्चसमेत सहज भएके छ । “आफूले कमाएर घरमा पैसा दिन पाउँदा गर्व लाग्छ । पहिला पहिला आफूलाई केही चाहियो भने पनि श्रीमान्सँग माग्नु पथ्र्यो, अहिले आफैँले कमाउँदा निर्धक्क भएर खर्च गर्छु ।”

केही गर्ने आँट र इच्छा भएका महिलाका लागि विभिन्न सिपमा आधारित तालिम दिएर नगरपालिकाले पनि सहयोग गर्ने गरेको घोडाघोडी नगरपालिकाका रोजगार सहजकर्ता जुगिना चौधरी बताउँछिन् । पालिकाका विभिन्न वडामा अचार बनाउने, सिलाइकटाइ, दुनाटपरी, घर सजावटका सामग्री बनाउने जस्ता तालिम सञ्चालन भएको छ ।