थारु उद्यमी व्यवसायी एकजुट, १७ सदसीय तदर्स समिति गठन
कैलाली । थारु समुदायका उद्यमी तथा व्यवसायीहरू एकजुट भएका छन् । उनीहरु आर्थिक, सामाजिक तथा व्यवसायिक सशक्तिकरण गर्ने उद्देश्यले एकजुट भएका हुन् ।
थारु कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा थारु उद्यमी व्यवसायी संघ गठन गरे । उक्त समितिलाई थारु कल्याणकारिणीसभा केन्द्रीय कार्यालयले संरक्षण तथा सहकार्य गर्ने जनाएको छ ।
थारु उद्यमी तथा व्यवसायीहरुको भेला भएर बिभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति गठन गरेको आयोजकले जनाएको छ ।
उक्त भेलाले थारु समुदायभित्र रहेका उद्यमी, व्यवसायी, पेशाकर्मी तथा उद्यमशील युवाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै आपसी सहयोग, समन्वय, लगानी विस्तार तथा आर्थिक सशक्तिकरणकालागि संघ स्थापना गर्ने निर्णय गरेको छ ।

भेलामा सहभागी वक्ताहरूले थारु समुदाय आर्थिक रूपमा आत्मनिर्भर बन्न उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए । व्यवसायीहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई अझ सशक्त बनाउने उनीहरुको धारणा थियो ।
भेलाबाट तदर्थ समितिको संयोजक शिब बहदुर चौधरी (दाङ), हृदयनारायण चौधरी (उदयपुर) सचिवमा सर्वसहमत चयन भए ।
त्यसैगरी सदस्यमा सिताराम चौधरी (बर्दिया), नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ) विनोद चौधरी (काठमाडौं), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवण कुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टिकराम चौधरी (कैलाली), तिलक बहादुर चौधरी (बर्दिया), र शुसिला चौधरी (कैलाली) का रहेका छन् ।
भेलाले आगामी दिनमा संघको विधान निर्माण, सदस्य विस्तार, प्रदेश तथा जिल्ला तहसम्म संगठन विस्तार, उद्यमशीलता विकास तालिम, व्यवसायिक सहकार्य तथा लगानी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।













