थारु समुदायमा भजहरको रौनक

कैलाली । थारु समुदायमा आजभोली भजहरको रौनक छाएको छ । कैलारी गाउँपालिका वडा नं. ९ बेनौली गाउँका महिला बुधबार बिहानैदेखि खुुला चौरमा आफ्नो भान्छाको सरसमान बोकेर बसे । उनीहरु लहरै चुुलो राखेर खाना पकाए र रमाउन थाले । भजहरमा दिनभरि खाने र रमाउने गरेको स्थानीयहरु बताउँछन् ।

बिहानै गएका उनीहरु बेलुुका अबेर घर फर्किएको स्थानीय प्रजा चौधरी बताउँछिन् । यो पर्व महिलाहरुको स्वतन्त्र पर्वकोरुपमा पनि लिने गरिन्छ । महिलाहरु दिनभरि साथीसंगीहरुसंग खेल्ने रमाउने गर्दछन् ।

यस्तै बिहीबार कैलारी गाउँपालिका वडा नं. ८ लोहरपुरका स्थानीय महिलाहरुपनि गाउँ छेउको जंगल किनारमा भजहर गएका छन् । भजहरमा विभिन्न किसिमका नाचगान, खेलकुद, खानाका परिकार खाएर रमाउने गरेको स्थानीय गिता चौधरी बताईन् ।
यसरी नदी छेउ, जंगल छेउ अथवा खुल्ला चौरमा उनीहरु कुुनै बाध्यता विना महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भन्ने जनविश्वास छ ।

भजहरको किम्वदन्ती

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न छुुट्टा छुुट्टै कथा सुनाउने गरेको थारु संस्कृति विद्हरुको भनाई छ । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको बताउँछन् । रावणको कब्जाबाट अयोध्या ल्याएपछि, जब रामले गर्भवती सीतालाई पुनः वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको हो ।

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरुले दुुर्गाको पूजा आजा गर्ने गर्छन् । विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुुक्त हुुने थारु समुदायको विश्वास छ ।