धुँवामै जीवन खोजिरहेका पूर्व उपमेयर
बर्दिया । मधुवन नगरपालिका वडा ४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहेका ४३ वर्षीया शुवरानी थारू धुँवामै जीवन खोजिरहेका छन् ।
उनले आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर सडक बजारमा बेच्दै आईरहेका छन् । शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ ।
उनले भनिन्, “काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ ।” गत वर्ष उहाँ पूर्व नगर उपप्रमुखको जिम्मेवारीमा थिए । उपमेयर भएर मकै पोल्नुहुन्छ भन्ने प्रश्न आउने गरे पनि आफूले त्यसलाई सहजरुपमा लिएको बताईन् । उनले भनिन्, “आफ्नो काम गर्न के को लाज ? म कतै ठग्न चोर्न गएको छैन ।”
नगरपालिकाको उपप्रमुख रहेका उनी अगाडि पनि कृषि पेशा नै गरेको र अहिले पनि त्यही पेशा गरिरहेको बताईन् । पहिले पनि मैले जग्गा भाडामा लिएर खेती किसानी गर्थे, मकै लगाउँथे, पोलेर बेच्थेँ अहिले पनि त्यही काम गर्छु । कार्यकाल सकिएपछि मकै पोलेर बेच्न थालेको छुँ, उनले भनिन् ।
आफ्नो बारीमा फलेको मकै पोलेर बेच्दा राम्रो आम्दानी हुन्छ । “मकै दाना बनाएर बेच्दा बढीमा प्रतिक्विन्टल चार हजार आउँछ ।” उनले भनिन्, “घोगा बेच्दा प्रतिघोगा १५ रुपियाँ र पोलेर बेच्दा प्रतिघोगा २५ रुपियाँमा बेच्ने गरेको छु ।”
गत वर्ष मकै पोलेर बेचेर ७५ हजार रुपियाँ आम्दानी गरेको बताउँदै यस वर्ष पोलेर बेच्नका लागि मकै लगाएकाले एकलाख रुपियाँसम्म आम्दानी गर्ने लक्ष्य छ । कृषि र पशुपालन शुवरानीको परिवारको मुख्य स्रोत हो ।
आफ्नो १० कठ्ठा जग्गा मात्र रहेको र थप २ विघा जग्गा भाडामा लिएर कृषि पेशा गरिरहेको उनले सुनाईन् ।













