सत्य निरुपण आयोग : पिडितको सम्मान तथा परिवारको भविष्य सुनिश्चित गर्न माग

कैलाली । तीस वर्षदेखि न्यायको पर्खाईमा बसेका द्धन्द्ध पिडित परिवारले सत्य निरुपण तथा मेलमिलाप आयोग द्धन्द्ध पिडितहरुको सम्मान र उनीहरुको परिवारको भविष्य सुनिश्चित गरोस् भन्ने आशा अपेक्षा रहेको बताए ।

आयोगले बुधबार आयोजित संक्रमणकालिन न्याय सम्बन्धी छलफल कार्यक्रममा पिडितहरु यस्तो अपेक्षा व्यक्त गरेका हुन् । द्धन्द्ध पिडित साझा चौतारीका केन्द्रीय अध्यक्ष भागीराम चौधरी आफू पनि पिडित भएको बताउँदै पटक पटक गठन भएको आयोगले गर्न नसकेको अधुरो कामलाई चाडै नै सम्पन्न गरि संक्रमणकालिन न्यायले समाज सद्भाव मिलाओस् भन्ने धारण व्यक्त गरे ।

उनले भने ‘सत्य बाहिर आउनुपर्छ, गम्भिर मानव उल्लंघनका घटनामा आम माफी स्वीकार्य हुदैन । राज्यले मलाई सम्मान दिओस् र मेरो परिवारको भविष्य सुनिश्चित गरोस् । सबै कुरा पुरा नहोला, तर के कारणले पुरा भएन भन्ने रिर्पोट सार्वजनिक गरोस् ।’ यति भए द्धन्द्ध पिडित तथा प्रभावितले न्याय पाएको अभाष गर्ने बताए ।

तेस्रो पटक गठन भएको उक्त आयोगको अध्यक्ष महेश थापाले काम राम्रोसंग सम्पन्न गर्नकोलागि सत्यको अन्वेषण हुन जरुरी रहेको बताउँदै सत्यको खोजीगर्न फिल्डमै आएर कामको शुरु कैलालीवाट गरेको बताए ।

उनले सत्य काम विबादित नहोस् भनि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे । उक्त टिमले चैत २५ र २६ गते धनगढी, भजनी, गौरीगंगाका पिडितहरुसंग छलफल गर्नेछ ।

तयसैगरि २७ गते जोशीपुर, मोहन्याल र गोदावरी २८ गते लम्की चुहा, बर्दगोरिया र चुरेमा २९ गते कैलारी, घोडाघोडी र जानकीमा र ३० गते टीकापुरमा छलफल चलाउने छ । छुटेकाहरुको हकमा हरेक पालिकाको सम्पर्कको आधारमा काम गर्ने अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा सत्य बाहिर आउनुपर्छ, कोही छुट्नु हुदैन । सरकारलाई पूर्ण सहयोग गर्ने गैरसरकारी संघसंस्थाको प्रतिवद्धता थियो ।