विपद्‍ पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

आइतबार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आगामी मनसुनमा विपद्का कारण कसैले पनि ज्यान गुमाउन नपर्ने गरी पूर्वतयारी गर्न निर्देशन दिए । उनले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताए ।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गर्नसमेत प्राधिकरणलाई निर्देशन दिए । नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइ अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

उनले भने, “हामीले विपद् व्यवस्थापनको सन्दर्भमा मैदान (फिल्ड) मै काम गर्न थालेको १० वर्ष भइसक्यो । देशमा जुनसुकै विपद् आउँदा हामी नपुगेको कुनै पनि ठाउँ छैन । विगतमा पनि जहाँ अप्ठ्यारो पर्‍यो, हामी त्यहाँ पुगेका छौँ । अब त्यसको समाधान गर्ने हैसियत बनाएर आएको छु जस्तो लाग्छ ।” उनले अगाडि भने “विपद् प्रतिकार्य र व्यवस्थापनका लागि हाम्रो तयारी जहिले पनि ढिलो हुन्थ्यो । आज मैले प्राधिकरणसँग के प्रस्ताव राखेको छु भने विपद् व्यवस्थापनका लागि कम्तीमा पनि क्याम्पस तहसम्म व्यावहारिक शिक्षा भइदियो भने दक्ष जनशक्ति तयार हुन सक्छ । प्राथमिक उपचार मात्रै दिन सकियो भने पनि धेरैको ज्यान बचाउन सकिन्छ । त्यसैले यस्ता कुरा पाठ्यक्रममै राख्नुपर्छ र सोही अनुसार शिक्षा मन्त्रालयमा प्रस्ताव जान्छ ।”

गृहमन्त्री गुरुङले मनसुन आउनुभन्दा अगाडि नै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीलाई कार्यक्षेत्रमा खटाउन र अभ्यास तथा तालिमलाई तीव्रता दिन निर्देशन दिए ।