चार्जिङ स्टेसन राख्नलाई एकवर्षदेखि कुर्दै, मापदण्ड पुगेका फाईलपनि कार्यालयमै थन्कियो
कैलाली । नेपाल विद्युत प्राधिकरणले निजी तथा सार्वजनिक र्फम/कम्पनी/संस्थामा चार्जिङ्ग स्टेसन राख्न पाईने अनुमति दिएपनि काममा ढिलाई भईरहेको बताइएको छ । कुलमान घिसिंग उर्जामन्त्री बनेपछि विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली २०७८ लाई टेकेर सो व्यवस्था ल्याएको हो ।
सरकारले निजी तथा सार्वजनिक चार्जिङ स्टेसनको व्यवस्था ल्याएपछि सुदूरपश्चिमबाट थुप्रै फाईलहरु दर्ता भएका थिए । तर सरकारको मापदण्डअनुसार सुदूरपश्चिम स्थित विद्युतको क्षेत्रिय कार्यालयबाट मापदण्ड पुरा भएका आधा दर्जन फाईल वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौं कार्यालयमा रोकिएको छ ।
ब्लुग्रास अनलाईन सर्भिस प्रालिले पनि विगत एक वर्षदेखि चार्जिङ स्टेसनकोलागि विद्युत प्राधिकरण धनगढी शाखा कार्यालय, क्षेत्रिय कार्यालय अतरिया हुदै काठमाडौंसम्म पटक पटक धाईरहेको प्रा.लि.ले जनाएको छ । ‘हाम्रो फाईलको मापदण्ड पुरा भएको छ । फाईल पेश गरेको एकवर्ष पुरा भयो तर, केन्द्रिय कार्यालयमा फाईल रोकिएको छ ।’
वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौं कार्यालयका प्रमुख तेक नाथ तिवारीका अनुसार चार्जिङ स्टेसनकोलागि पेश भएका थुप्रै फाईलहरु रोकिएर राखिएको छ । अफिसमा ट्रान्सफारम र पैसाको अभावले फाईल रोकिए हो । नयाँ सरकार गठनसंगै अब चाँडै नै काम शुरु हुने तिवारी बताउँछन् ।
चार्जिङ स्टेसन सञ्चालन गर्दा निजी व्यक्ति/कम्पनी एवं सार्वजनिक यातायात संचालकले आफ्नो व्यक्तिगत/आन्तरिक प्रयोजनको लागि चार्जिङ पूर्वाधार निर्माण गर्दा सार्वजनिक चार्जिङ्ग स्टेसनलाई तोकिएको मापदण्ड तथा प्रकृया पुरा गर्नुपर्ने साथै प्राधिकरणको डाटा प्रणालीमा आवद्ध गराउनुपर्ने प्रावधान छ ।
सार्वजनिक चार्जिङ्ग स्टेसन सञ्चालन गर्ने व्यक्ति/फर्म/कम्पनीले नेपाल सरकारबाट समय समयमा जारी हुने निर्देशनको पालना गर्नु पर्नेछ । यो व्यवस्थापछि चार्जिङ स्टेसनका लागि तोकिएको दररेटमा रातको समयमा विद्युतीय सवारी सस्तो मूल्यमा चार्ज गर्न सकिन्छ ।
प्राधिकरणको विनियमावलीअनुसार नेपालका मुख्य–मुख्य शहरी क्षेत्रमा सार्वजनिक चार्जिङ्ग स्टेसन सञ्चालन गर्न चाहने व्यक्ति/र्फम/कम्पनीलाई प्राथमिकता दिइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ्ग स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइएको थियो ।
चार्जि· स्टेसन राख्दा न्यूनतम पूर्वाधार पनि विसनियमावलीले तोकेको हुनुपर्ने छ । ११,०००/४०० वा ३३,०००/४०० भोल्टको सबस्टेसन ट्रान्सफरमर, लाइन, केवल, टर्मिनेसन, मिटरिङ्ग सहितका सम्पूर्ण सुरक्षा उपकरण अनिवार्य गरिएको छ । गाडी पार्क तथा चार्जिङ्ग हुने क्षेत्रफल र सो सम्बन्धी सिभिल काम भएको हुनुपर्नेछ ।
गाडी प्रवेश गर्ने, चार्जिङ्ग गर्ने र निकासको लागि पर्याप्त ठाउँ , तोकिएका चार्जरहरु मध्ये कम्तिमा कुनैएक प्रकारको चार्जर जडान गरेको हुनुपर्ने व्यवस्था छ । चार्जिङ्ग सेवा प्रदायकहरुले आवश्यक भएमा चार्जिङ्ग बोर्डमा थप चार्जरहरू स्थापना गर्न सक्नेछन्, त्यसको लागी नेपाल विद्युत प्राधिकरणबाट पूर्व स्वीकृति लिएको हुनुपर्नेछ ।













