सामुदायिक वनको नेतृत्व समाल्ने महिला सरकार चलाउन सक्षम

कैलाली । २०७४ सालको निर्वाचनबाट लगभग १५ सय जना महिला जनप्रतिनिधि सामुदायिक वनकै नेतृत्वबाट आफ्नो राजनीतिक करियर बनाएर सरकार सम्म पुगेका थिए । ती महिला स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा राजनीतिक दल मार्फत त्यहाँसम्म पुगेका हुन् । उनीहरुको राजनीतिक शुरुवाट नै सामुदायिक वनमा काम गरेर अघि बढेको हो ।

वन एउटा महत्वपूर्ण प्राकृतिक स्रोत हो । वनको दिगो व्यवस्थापन, महिला सहभागिता र समृद्धिको विषय देशको अर्थ राजनीतिक व्यवस्थासँग जोडिएको छ । राजनीतिमा महिलाको सहभागिता हुनुमा वनको ठूलो भूमिका छ । अहिले सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिता छ । निणार्यक पदमा समान हिस्सेदारीले महिलालाई राजनीतिको मूलधारमा स्थापित गर्न सहयोग पुगेको छ । विभिन्न राजनीतिक दल, संघसंस्था र स्थानीय सामुदायिक संगठनमा समेत सामुदायिक वनका महिला नेतृत्वको सहभागिता रहेको छ ।

इतिहास खोटल्ने हो भने वन संरक्षणमा महिलाको उल्लेखनीय भूमिका पहिलैदेखि नै देखिन्छ । समुदाय, उपभोक्ता समूह, सामुदायिक वन महासंघको निर्णायक तहमा महिलाको सहभागिता गराउन महिलाहरुले ठूलो संघर्ष गर्नुपरेको ईतिहास साक्षी छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २०५० सालको दशकमै वन विकास गुरु योजना निर्माण गर्ने क्रममा ५ं० प्रतिशत महिला नेतृत्वको विषयमा स्पष्ट धारण राख्दै आएको थियो । तर, कानुन निर्माणको समयमा राज्य पक्षले महासंघको यो प्रस्ताव सहर्ष रूपमा स्वीकार्न सकेन । बल्लतल्ल ३३ प्रतिशत व्यवस्थाको कुरा ल्याइयो ।

यद्यपि, महासंघले भने आफ्नो संरचनाबाट ५० प्रतिशत महिला र निर्णायक पद र जिम्मेवारीमा पनि ५० प्रतिशत महिला अनिवार्य हुने व्यवस्था ल्यायो । तत्कालीन समयमा यो व्यवस्थाले महिला आन्दोलनलाई ठूला बल पुग्यो ।

देश संरचनामा आउनु पूर्व राजनीतिक तहमा होस् वा राज्यका अन्य अंगमा महिलाको सहभागिता निकै न्यून थियो । राज्यका संयन्त्रले त्यसलाई स्वीकार्न र महिलाको सम्मानजनक सहभागिताका कुरा समेत उपेक्षामा पर्थ्यो । अहिले पनि ग्रामीण क्षेत्रका महिलाहरु बिहान उठेदेखि साँझसम्म प्रत्यक्ष रूपमा वन संरक्षणमा समय खर्च गरिरहेका हुन्छन् । जुन कारण वन स्रोतमाथि महिलाको पहुँच अझैपनि कम छ ।

त्यसैले सामुदायिक वनमा ५० प्रतिशत र निर्णायक जिम्मेवारीमा महिलाको सहभागितामा बहसको नेतृत्व फेकोफनले नै गरेको हो । महासंघका हरेक कार्य समितिमा मात्र ५० प्रतिशत महिला सहभागिता रहनेमा मुख्य पदमा नै ५० प्रतिशत महिला सहभागिता रहने प्रावधान राखेको छ । अध्यक्ष र महासचिव पदमध्ये कम्तीमा एक पदमा महिला रहने प्रावधान छ ।

त्यसैगरी उपाध्यक्ष र कोषाध्यक्षमध्ये कम्तीमा पनि एक पदमा महिला अनिवार्य रहने व्यवस्था छ । त्यस्ता पैरवी बहस र संवाद बढ्दै गएपछि सामुदायिक वन विकास मार्गदर्शन २०६५ ले पनि ५० प्रतिशत महिलाको व्यवस्थालाई सुनिश्चित नै ग¥यो । यो सामुदायिक वनले प्राप्त गरेको ठूलो उपलब्धि हो । तर, आजको अवस्थामा आइपुग्दा यो मात्रै पूर्ण मान्न भने सकिँदैन । वनको हरेका क्षेत्रमा ५० प्रतिशत महिला नेतृत्व सुनिश्चित हुनुपर्छ भन्ने अभियानमा महासंघ निरन्तर लागिपरेको छ ।

एउटा कालखण्डमा अर्थात् तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा उनलाई साथ दिने सेना र कर्मचारीलाई तलब दिने पैसा नहुँदा तलबको रूपमा र पुरस्कारका रूपमा वन क्षेत्रलाई वीरता र जागिर वा किपटका रूपमा दिने गरेको देखिन्छ । राणाकालमा राणाका परिवारलाई व्यवस्थापन गर्नुप¥यो भने तराई र मधेसका जंगल नै उपलब्ध गराउने गरेको यथार्थ हाम्रै सामु छ । २००७ सालमा प्रजातन्त्र स्थापनापश्चात् पनि शासनको असर वनसँग रहने देखेर नै २०१७ सालमा नेपालको वन राष्ट्रियकरण गरिएको थियो । २०३६ सालमा भएको जनमत संघर्षपछि बल्ल पञ्चायती शासन व्यवस्थामा केही खुकुलोपन आएसँगै वनको व्यवस्थापनमा जनताको सहभागिता गराउन सुरुवात गरिएको हो । यो नै सामुदायिक वनको अवधारणा विकासको प्रारम्भ बिन्दु हो ।

सामुदायिक वन अभियानले नेपालको वन क्षेत्र ३९ दशमलव ६ प्रतिशतबाट बढेर ४४ प्रतिशतको हाराहारीमा पुगेको अध्ययनले देखाएका छन् । सामुदायिक वनको अभियान र विकासबाट भएको यो एउटा ऐतिहासिक उपलब्धि हो । २२ हजारभन्दा धेरैको संख्यामा सामुदायिक वन उपभोक्ता समूहको सक्रियताले वन संरक्षणसँगै डेढ करोडभन्दा धेरै जनसंख्यालाई लाभ दिनु चानचुने कुरा हैन । त्यसैले महासंघको अबको ध्यान वनलाई दिगो व्यवस्थापन गरी वनमा आधारित उद्यम र वनजन्य उद्योगको विकासमार्फत समृद्धि हासिल गर्नु हो ।

वन पैदावारमा आधारित उद्योगको विकास गर्ने हो भने नेपालभित्रै १५ लाखभन्दा धेरै व्यक्तिलाई रोजगारी सिर्जना गर्न सकिन्छ र यसबाट महिला, युवा, गरिब, विपन्न र स्थानीय जनतालाई प्रत्यक्ष लाभ पु¥याउन सकिन्छ । वनस्रोतमाथि महिला, दलित, जनजाति र स्थानीय सम्प्रदायको अधिकार सुनिश्चित गरी वनबाट समृद्धि ल्याउन सबैले पहल गर्नु आजको आवश्यकता हो ।