सुदूरपश्चिममा कुपोषण र मृत्युदर उच्च
कैलाली । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था गम्भीर चरणमा पुगेको एक अध्ययनले देखाएको छ। प्रदेश सरकारले गत वर्ष गरेको सर्वेक्षणअनुसार हरेक चार बालबालिकामध्ये एक जनामा उमेरअनुसार उचाइ कम (पुड्कोपन) र हरेक छ मध्ये एक जनामा तौल कम (ख्याउटेपन) देखिएको छ। ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषणको भार अत्यन्तै गम्भीर रहेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले जनाएको छ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुदूरपश्चिमका बालबालिकाको स्वास्थ्य अवस्था ‘आपत्कालीन’ श्रेणीमा पर्छ। ग्रामीण क्षेत्रमा महिला र बालबालिका कुपोषणको दुश्चक्रमा फसेका छन्। अध्ययनले ३१.४५ प्रतिशत बालबालिकाले कुनै पनि तरकारी वा फलफूल नखाएको, ६ महिना नपुग्दै आमाको दूधबाहेक अन्य दूध खुवाउने चलन र १० मध्ये चार बालबालिकाले ‘जंक फुड’ सेवन गर्ने गरेको देखाएको छ।
बाल मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी छ। हालै सार्वजनिक नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा एक हजार जीवित जन्ममा २७ नवजात शिशुको मृत्यु हुने गरेको छ भने सुदूरपश्चिममा यो दर ३८ पुगेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि राष्ट्रिय औसत ३१ हुँदा सुदूरपश्चिममा ४८ रहेको छ।













