कैलाली ५ मा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना ठूला दललाई टक्कर दिदै

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाको रोचक प्रतिश्पर्धा हुने देखिएको छ । उनी ठूला दलका उम्मेदवारसंग प्रतिश्प्रर्धी भएर निर्वाचनको महोललाई रोचक बनाएका छन् ।

सुदूरपश्चिम प्रदेशकै मुख्य निर्वाचन क्षेत्रको रुपमा हेरिएको कैलाली ५ मा स्वतन्त्र उम्मेदवार रानाले ठूला दल नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनु, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री प्रेम आलेमगर, नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्द बहादुर चन्दलाई कडा चुनौती दिदै चुनावी अभियानमा दौडीरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ गरेर २१ वडा पर्छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ कुल १ लाख १० हजार ५३९ मतदाता रहेका छन् ।

यहाँको थारु र रानाथारु समुदायको मतलाई निर्णायक मानिन्छ । जसले यी मतलाई आफ्नो पक्षमा पार्न सक्यो, उसैको पक्षमा जीत निश्चित हुन्छ ।