भलमन्सा प्रणाली शासन प्रणालीसँग जोड्नुपर्छ : चन्द
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली ५ उम्मेदवार आनन्द बहादुर चन्दले थारु समुदायमा रहेको भलमन्सा प्रणालीलाई शासन प्रणालीसँग जोड्ने बताएका छन्। चन्दले वाचा पत्रमै उल्लेख गरेको बताउँदै घरदैलोका क्रममा भेटिएका भलमन्साहरुसँग उक्त विषयमा बताइरहेका हुन्।
थारु समुदायको बीचमा चन्दले आफू कैलालीको थारु र राना समुदायमा प्रचलित भलमन्सा प्रणालीलाई लिएर गम्भीर रहेको बताए। उनले कैलारी गाउँपालिकाको गदरियामा घरदैलको क्रममा भने, ‘भलमन्सा भनेको समाजको नेता हो। जसले वर्षौंदेखि समाजको नेतृत्व गरिरहेको छ। त्यसलाई हामीले शासन प्रणालीसँग जोड्छौं।‘
चन्दले घोषणा पत्रमा थारु समुदायको परम्परागत भलमन्सा प्रणालीलाई शासन संरचनासँग जोड्न पहल गर्ने बताएका छन्। उनले भनेका छन्, ‘भलमन्साको क्षमता विकासका लागि विभिन्न तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ। परम्परागत ज्ञन र आधुनिक कानुनी प्रणालीलाई जोड्ने परामर्शदाता भूमिकामा भलमन्साको प्रयोग गरिनेछ।‘ चन्दले घोषणा पत्रमै भलमन्सा प्रणालीलाई उल्लेख गर्ने पार्टी र उम्मेदवार आफू मात्रै रहेको बताए।
चन्दलाई स्थानीयले सखिया नृत्य देखाएका थिए। उक्त विषयमा बोल्दै उनले समुदायको कला, संस्कृति, भाषा र परम्पराको पनि संरक्षणको पक्षमा आफू रहेको उल्लेख गरे । उनले भने, ‘डगौरा थारु र राना थारु समुदायमा रहेका लोकनृत्य ९सखिया, झुमरा, मुंग्रहुवा, होरीनाच आदि० र संगीतलाई लिपिबद्ध गर्ने र डगौरा थारु र राना थारु समुदायको भेषभूषा, संस्कृति र खानपान ९ढिक्री, घोंगी, सिद्रा, माछा, अनदीको भात, मिसौला आदि०, चाडपर्व ९माघी, होली, दशैं, दिपावली, चिरइभगाइ०को महत्व उजागर गर्ने हाम्रो योजनामा छ।‘
त्यसैगरी थारु संस्कृति, पर्यटन तथा होमस्टे योजना पनि आफूले अघि सारेको उक्त कोणसभामा बताएका छन्। उनले थपे, ‘थारु संस्कृति, परम्परा र जीवनशैलीको संरक्षण र प्रवद्र्धन गर्दै थारु होमस्टे कार्यक्रम विस्तार गर्ने हामीले वाचा पत्रमै लेखेका छौं।’
परम्परागत थारु गाउँको महत्व कायम राख्न थारु घरको संरक्षण तथा सम्बद्र्धन गर्न विशेष नीति लिइनुका साथै अनुदानको व्यवस्था गरसने र थारु समुदायको परम्परागत कला, भेषभूषा, आदिको संरक्षण तथा प्रबद्र्धनका लागि थारु सांस्कृतिक संग्राहलय सञ्चालनका लागि समेत पहल गर्ने उनले बताएका छन्।
कैलाली( ५ निर्वाचन परिचालन समिति सदस्य समेत रहेका रास्वपा जिल्ला सभापति महेश चौधरीले वाचा पत्र थारु भाषामा समेत सार्वजनि गरिएको बताए। उनले भने, ‘थारु भाषा, कला र संस्कृतिको महत्व बुझेको उम्मेदवार पाएका छौं। वाचा पत्र हाम्रो भाषामा सार्वजनिक गर्ने कैलाली-५ को एक मात्र उम्मेदवार उहाँ हुनुहुन्छ।‘













