दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ जोशीले लेखाए गिनिज बुकमा नाम
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।
जोशीले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।
उनी सात महादेशमा सात दिन लगातार सञ्चालन भएको म्याराथनमा नेपाली पोशाकमा दौडिने विश्वमै पहिलो धावक बनेका छन् । उनको यो विश्व किर्तिमान गिनिज बुकमा लेखिएको छ ।
शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुक अफ वल्र्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।
३१ जनवरीमा अन्टार्टिकाबाट शुरु भएको म्याराथन शुक्रवार अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।
उनले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा सञ्चालित सात वटै म्याराथनको समापनमा नेपाली र अमेरिकी झण्डा फहराएका थिए । २०१५ मा देखि हरेक वर्ष सञ्चालन हुदै आएको ‘विश्व म्याराथन च्यालेञ्ज’ अत्यन्त चुनौतीपूर्ण मानिन्छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । ‘७७७ म्याराथन’ २०२६ मा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।
अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् । उनले ‘विश्व म्याराथन च्यालेञ्ज’ लाई छोटो अवधिमा नेपाली सम्पदाको प्रचार गर्ने अवसरका रुपमा सदुपयोग गरेको बताए ।
‘यो चुनौतीपूर्ण म्याराथनलाई मातृभूमि नेपाल, नेपाली सम्पदा र संस्कृति चिनाउने अवसरका रुपमा लिएको थिए’, उनले भने, ‘आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि गरिएको प्रयास सफल हुदा खुशी लागेको छ ।’
जोशीले सात दिन, सात महादेशमा सञ्चालित सात वटा म्याराथनमा फरक फरक दौरा सुरुवाल लगाएका थिए । ती सबै दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।













