रैथाने अनदी जातको धान लोप हुदै, संरक्षणकोलागि सरकारको पहल

कैलाली । थारु समुदायमा अनदी धानलाई विशेष धानकोरुपमा लिने गरिन्छ । तर पछिल्लो समय यो धान लोप हुदै गईरहेको छ । नेपाल सरकारले रैथाने धान विस्थापित भएको भन्दै संरक्षणकोलागि प्याकेजमै कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका वरिष्ट अधिकृत टेक बहादुर विष्ट बताउँछन् ।

हाइब्रिड तथा उन्नत जातका धानले नेपालका रैथाने धान विस्थापित गर्दै आई रहेका छ । यसरी विस्थापित भएका रैथाने धानमध्येको ‘अनदी’ धान पनि हो । चाडपर्वमा विशेष प्रयोग हुने अनदी धान पछिल्लो समय बजारमा पाउनै छाडेको विष्ट बताउँछन् ।

हाइब्रिड र उन्नत जातको धानबालीको तुलनामा अनदी धान कम उत्पादन हुन्छ । जुन कारण किसानहरुले रोप्न नै छोडिसकेको विष्ट बताउँछन् ।

उनका अनुसार अनदी धान खानाकोलागि एकदमै पोषिलो रहेकोले बजारमा यस्को माग उच्च छ । खानामा स्वादपनि एकदमै राम्रो हुन्छ ।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक जिल्लामा रैथाने बालीलाई संरक्षण तथा प्रर्वद्धन गर्ने भनेर नीति ल्याएको छ । जुन नीतिलाई टेकेर कृषि ज्ञान केन्द्रले तराई क्षेत्रमा थारु आलु र अनदी धानमा अनुदान दिईरहेको विष्ट बताउँछन् ।

गत वर्षदेखि थारु समुदायमा अनदी धानमापनि प्रदेश सरकारले अनुदान दिईरहेको छ । उनका अनुसार अनदी चामल एकदमै पोषिलो भएकोले सुत्केरी तथा गर्भवति महिलाहरुलाई अझ बढी उपयूक्त हुने भएको हुँदा यसलाई प्रवद्र्धन गर्नुपर्ने बताए । यो थारु समुदायमा कुला देवतालाईपनि चढाउने र पोषणको दृष्टिकोणबाटपनि उच्च मुल्य रहेकोले सरकारले अनदी धान खेति गर्न चाहने किसानलाई सहयोग गर्दै आईरहेको विष्ट बताउँछन् ।

उनका अनुसार आर्थिक वर्ष २०८२ मा कैलारी गाउँपालिका ७ बसन्ताको एक किसानले अनदी धान खेति गरेर ४० क्यून्टल भन्दा बढी धान उत्पादन गरेको बताए ।

उक्त उत्पादनको प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्रले बजारीकरण गर्न र प्याकेजिंग तथा प्रचार प्रसारमा सहयोग गर्दै आईरहेको विष्ट बताउँछन् ।

अनदी चामल माग गरेकाहरु कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्ने र त्यहिबाट सेवा उपलब्ध भईरहेको छ ।

पछिल्लो समय विकासे जातका बीउ बिजन देशभर फैलिएको छ । नयाँ–नयाँ विकासे जात आएको छ, उत्पादन बढी दिन्छ, विकासे जातमा मल, तालिम, विषादी लगायतको सहुलियत प्याकेज भए । तर अनदी धान सहुलियत पाउन सकेन ।

सरकारी तथा गैरसरकारी संघसंस्थापनि रैथाने बीउमा कम उत्पादन हुने भएकोले किसानले रोप्न छोडे पछि उत्पादन बढाउनका लागि विकासे, हाइब्रिड जातको बीउलाई प्राथमिकतामा राखे । जुन कारण रैथाने बीउ मासिन थालेको हो ।

अनदी धान के हो ?

अनदी धान नेपालको रैथाने धान हो । यो धानको चामल विशेष गरी पर्वमा विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ । अनदी धानलाई ‘स्टिकी राइस’ भनेर पनि चिनिन्छ । पहाडी भेगमा पुस १५ गते अनदीको चामलको भात (लट्टे) खाने प्रचलन छ भने तीजमा दरका रुपमा पनि अनदीको लट्टे खाने गरिन्छ । ‘अनदी चामल आडिलो हुन्छ, ।’

अनदी चामलबाट चाम्रे, बरिया, रोटी, चिचर, लगायतका विशेष परिकार बनाउने गरिन्छ । तर नेपालमा पछिल्लो समय रैथाने बालीको मूल्य उच्च हुँदै गए पनि उत्पादन भने न्यून छ ।

अनदी धानको माग बढेपनि उत्पादन खासै छैन । यो धान पोषिलो र स्वादिलो रहेको मुल्य अलि महगो छ । अहिले अनदी चामल १६० देखि २०० रुपैयाँ सम्म मुल्य पर्ने गर्दछ । अनदी धान रातो, पहेँलो, सानो अनदी र ठूलो अनदी गरि विभिन्न थरीका जात छन् ।