तराईमा सितलहर, ह्वात्तै चिसो बढेपछि जनजिवन प्रभावित

कैलाली । कैलाली कञ्चनपुरमा पुस १ गतेदेखि शितलहर शुरु भईसेकेको छ । बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको हो ।

चिसो बढेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी तथा गर्भवति महिला बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा असर पारेको ५० वर्षीया माया कुमारी चौधरी बताउँछिन् ।

हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । दैलो ट्राभल्र्स इभि चालक उत्तम चौधरीका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ । हुस्सुको कारण गाडी चलाउन गाह्रो भएपछि गति कम गरेर सावधानीपूर्वक सवारी चलाईरहेको उनले बताए ।

चिसोका कारण बिहानै विद्यालय जाने बालबालिकाहरुलाई खोकी लाग्ने, छातीमा चिसो समात्ने जस्ता समस्या देखिएको छ ।

अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाएर मात्रै निस्कन स्थास्थ्यकर्मीहरुको सुझाब छ । साथै बालबालिकालाई स्कुल पठाउदा न्यानो र बाक्लो लुगा लगाईदिन अभिभावकहरुलाई अनुरोध छ ।

स्वास्थ्य संस्थामा पनि चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर बिरामीहरु आउने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।