कृषि प्राविधिक करार कर्मचारीलाई वडा सचिबको जिम्मेवारी, सेवा प्रवाहमा गुनासो

कैलाली । कैलारी गाउँपालिका वडा नं ६ मा कृषि प्राविधिक करार कर्मचारीलाई वडा कार्यालयको जिम्मेवारी दिदा सेवा प्रवाहमा जनगुनासो बढ्न थालेको छ ।

कृषि सम्बन्धि ज्ञान भएका कर्मचारीलाई वडा कार्यालयमा सचिबको जिम्मेवारी दिदा सेवाग्राहीको काम प्रभावकारी हुननसक्दा जनगुनासो आएको हो ।

सो वडा कार्यलयमा सेवा लिन आएका सेवाग्राहीहरुको अनुसार पहिलाको सचिबलाई पालिकामा झिकाएर वडा कार्यालयमा नयाँ कर्मचारीलाई पठाएको, तर जिम्मेवारी पाएका वडा सचिबको काममा विज्ञता नभएको तथा काममा ढिलासुस्ती भएको आरोप छ ।

केन्द्रिय पञ्जिकरण विभागले २०७४ जेठ १४ जारी गरेको पत्र अनुसार स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वडा सचिब स्थायी कर्मचारी हुनुपर्ने उल्लेख गरेको छ । तर सो वडा कार्यालयमा नियम विपरित स्थायी कर्मचारीलाई पालिकामा सारेर वडाको जिम्मेवारी करार कर्मचारीलाई दिइएको खुलेको छ ।

पञ्जिकरण विभागले जारी गरेको निर्देशन बमोजिम वडा सचिब तथा निजको अनुपस्थितिमा गाउँपालिका/नगरपालिका को केन्द्रबाट व्यक्तिगत घटना दर्ता, गर्न गराउन हुन र स्थायी पञ्जिकाधिकारीको जिम्मेवारी तोकिने वडा सचिब स्थायी हुनुपर्ने जन्म मृत्यू र अन्य व्यक्तिगत घटना दर्ता गर्ने नियमावली २०३४ को नियम ३(१) अनुसार निर्देशन जारी गरिएको हो ।

उक्त वडा कार्यलयमा सहायक स्तरका करार कर्मचारी आपूति संगसंगै वडा सचिब जस्तो जिम्मेवारी पदमा पनि करार कर्मचारीलाई नै जिम्मेवारी दिएकोले सेवा प्रवाहमा केही समस्या आएको हुन सक्ने वडा अध्यक्ष प्रेम चौधरीले बताउँछन् ।

उनका अनुसार वडा कार्यालय दुई जना कर्मचारीले धानेको छ । काम गर्दा केही ढिलासुस्ति हुन आउनु स्वाविक हो । यस्तो बेला सेवाग्राहीलेपनि बुझिदिनुपर्छ । पहिलाको वडा सचिब प्रदेश सरकारबाट स्वीकृत स्थानीय सेवा ऐन २०८१ बमोजिम तह बृद्धि भएपछि उनलाई पालिकामा झिकाइएको हो । त्यस पश्चात पालिकाले कृषि शाखाका प्राविधिक करार कर्मचारीलाई सचिव बनाएर वडा कार्यालयमा पठाएको अध्यक्ष चौधरी बताउँछन् ।

वडाको नयाँ सचिबलाई कृषिबारे बढि ज्ञान तथा अनुभव भएको तर, प्रशासनिक कार्य सम्बन्धि ज्ञान तथा अनुभव कम भएको हुँदा सेवा प्रवाहमा केही असहज भएको हुन सक्ने उनले बताए । तर सचिबलाई सेवा प्रवाहमा कार्यालय सहयोगी कर्मचारीले धेरै भन्दा धेरै सहयोग गरिरहेको अध्यक्ष चौधरी बताए ।