पर्यटन, कृषि र उद्योग प्रवर्द्धनका लागि सुदूरपश्चिम महोत्सव लाग्ने

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित १९ औं संस्करणको सुदूरपश्चिम महोत्सव, आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म लाग्ने भएको छ । हरेक वर्ष लाग्ने महोत्सव यो वर्षपनि धनगढी–१ पशुपति टोलमा लाग्ने भएको हो ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने यो महोत्सवको तयारी थालिएको संघका नव निर्वाचित अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए। उनका अनुसार, यस वर्षको महोत्सवलाई ‘समृद्ध सुदूरपश्चिम निर्माण अभियान’ अन्तर्गत भव्य र व्यवस्थित रूपमा आयोजना गरिँदैछ।

महोत्सवमा कृषि, उद्योग, हस्तकला, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल तथा घरेलु उत्पादनसम्बन्धी ५०० भन्दा बढी स्टलहरू रहनेछन्। तीमध्ये स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न १५ र कृषिका लागि ४० सहित ५० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ।

संघका अनुसार बालबालिका, युवा र परिवारका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि तथा सांस्कृतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछन्। सामान्य दर्शकका लागि प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। ७० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूका लागि भने प्रवेश निःशुल्क रहनेछ।

अध्यक्ष ओझाले सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक सम्भावनालाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। “महोत्सवले प्रदेशको पर्यटन, कृषि र उद्योग क्षेत्रमा नयाँ लगानी र अवसर ल्याउने विश्वास लिइएको छ,” उनले भने।

महोत्सव सफल बनाउन संघले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायी र आम नागरिकसँग सहकार्यका लागि आग्रह गरेको छ।