तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्त चर्को मुल्य तिर्न बाध्य
कैलाली । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ताहरु तरकारी किन्न बाध्य छन्।
व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।
मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । चोक पिच्छे तरकारीको दररेट फरक फरक रहेको धनगढी उपमहानगरपालिका वडा नं. ८ का गिता चौधरी बताउँछिन् । उनी भन्छिन् ‘हाम्रोमा ५ जनाको परिवारव छ । आफ्नो तरकारी बारी छैन । हरेक दिन तरकारी किन्नु पर्छ । बजारमा चोक पिच्छे तरकारीको मुल्य फरक फरक हुन्छ ।’
बजारमा पुरानो आलुको मुल्य ३५ देखि ६० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ । त्यसैगरि तोरीको साग कहि केजीको ८० रुपैया छ भने कहि १०० रुपैया छ । प्याज कुनै ठाउँमा ५० छ भने कुनै ठाउँमा ६० रुपैया केजीको बेच्ने गरेको पाइएको छ ।
यस्तै अरु तरकारीमा पनि बजार अनुसार १०/१५ को फरक देखिन्छ । कुषि हाट बजारमा पनि तरकारीको मुल्यमा एकरुपता छैन । हाट बजार गएकाहरु एक चक्कर तरकारीको दररेट बुझ्छन्छ, त्यसपछि सस्तो पसलमा तरकारी किन्ने गरेको चौधरी बताउँछिन् ।
तरकारी बजारको अनुगमन जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकालाई नै जिम्मेवारी दिएको प्रवक्त शिवराज जोशी बताउँछन् ।
उनका अनुसार तरकारी बजारको मुल्य निर्धारण नगरपालिकाले गर्ने हो । तर बजारमा दररेट फरक देखिन्छ । उपभोक्तहरुपनि गुनासो नगरेकोले जिल्ला प्रशासन कार्यालय अनुगमन नगरेको प्रवक्ता जोशी बताउँछन् ।













