रानाथारु होमस्टेमा पाहुनाको आकर्षण
कञ्चनपुर – भीमदत्त नगरपालिका–१४ नयाँ कटानकी सरस्वती रानाको परिवार तरकारी खेतीमा लागेको थियो । तरकारीबाटै घर खर्च चलाउन भने मुस्किल थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको बस्ती भएकाले होमस्टे सञ्चालनको कुरा उठ्यो । रानाथारु समुदायको मौलिक संस्कृतिको संरक्षणसँगै पाहुनालाई देखाएर आम्दानी पनि गर्न सकिने भएकाले एक दशकअघि सामुदायिक होमस्टे सञ्चालनमा आयो । सुरुमा त पाहुना आउँदा कसरी स्वागत गर्ने, खाने बस्ने व्यवस्थापन कसरी गर्ने भनेर गाह्रो हुन थाल्यो । बोलीभाषा नबुझ्दा अप्ठेरो पनि भइरहेको थियो । बिस्तारै तालिम लिँदै, अभ्यास गर्दै जाँदा अहिले त्यहीँ होमस्टे सरस्वतीको परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ ।
उनको परिवारले होमस्टे सुरु गरे पनि तरकारी खेतीलाई निरन्तरता दिएको छ । होमस्टेमा चाहिने तरकारी पनि आफै उत्पादन गर्छन् । उत्पादन बिक्री गर्न टाढा जानु नपर्ने र होमस्टे र तरकारी दुवैबाट आम्दानी हुन्छ । ‘तरकारी पनि उत्पादन गर्छौं, बजारमा बिक्री गर्छौं, होमस्टेमा पनि घरकै तरकारी प्रयोग गर्छौं,’ रानाले भनिन्, ‘तर हाम्रो घर खर्च चलाउने मुख्य स्रोत भने अहिले होमस्टे नै बनेको छ ।’ सरस्वतीका अनुसार गएको सिजनमा उनको घरमा अढाई सय बढी पाहुना पुगेका थिए । त्यसबाट डेढ लाख हाराहारी आम्दानी भएको छ ।
बर्खायामका दुईरतीन महिना यहाँ पाहुना आउँदैनन् । त्यतिबेला खर्च चलाउन निकै गाह्रो हुने गरेको सरस्वतीले बताइन् । दसैंतिहारपछि पाहुना आउन सुरु हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक अधिकांश होमस्टेमै बस्न आउँछन् । निकुञ्ज छेउमै भएकाले होमस्टेमै बसेर पनि कतिपय वन्यजन्तु देख्न सकिने भएकाले पर्यटक यहाँ बस्न लोभिने गरेका हुन् । ‘अहिले फाटफुट पाहुना आउन थालेका छन्, यसपटक निकुञ्जमा सफारी ढिलो भएका कारण धेरै पाहुना आएनन्,’ रानाथारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले भने, ‘भर्खर सफारी खुलेको छ, अब पर्यटक आउन सुरु हुँदैछ ।’ उनका अनुसार होमस्टेमा आउने पाहुनालाई रानाथारु नृत्यबाट स्वागत सँगै र परम्परागत पहिरन समेत दिइने गरिन्छ । परम्परागत पहिरन लगाउन पाहुनाहरु आकर्षित हुने गरेका छन् ।

रानाथारु समुदायको बसोबास रहेको भीमदत्त नगरपालिका–१४ र १६ मा रानाथारु सामुदायिक होमस्टे सञ्चालन गरिएको हो । १० वर्षअघि सञ्चालन गरिएको होमस्टे अहिले आम्दानीको प्रमुख स्रोत बन्न थालेको छ । ‘एक परिवारले एउटा सिजनमा एकरडेढ लाख आम्दानी गरिरहेको छ,’ होमस्टेका अध्यक्ष परशुराम रानाले भने, ‘अहिले पाहुना आउने क्रम पनि बढेको छ ।’ उनका अनुसार होमस्टेमा आउने अधिकांश पाहुना स्वदेशी नै हुन् । उनीहरुले रानाथारु समुदायका परिकार मन पराउने गरेका छन् ।
निकुञ्ज छेउको रानाथारु बस्तीमा ८ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा दुई कोठामा चाररचार जनासम्म पाहुना राख्न सकिन्छ । सुरुमा माटोको घरमा होमस्टे सञ्चालन गरिएको थियो । अहिले पक्की घर बनाइएको छ ।
होमस्टेसँगै रानाथारु समुदाय खेतीपातीमा पनि व्यस्त हुन्छ । होमस्टेमा चाहिने तरकारी, अन्न, दुध तथा दुग्धजन्य पदार्थ घरमै उत्पादन गरिन्छ । घरमै उत्पादन गरेको तरकारी होमस्टेमै खपत हुन्छ । होमस्टेमा खपत नभएको तरकारी बजारमा बिक्री पनि गर्छन् । ‘होमस्टेसँगै तरकारी उत्पादनमा छौं, त्यसैले घर चलेको छ,’ रानाथारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले भने, ‘बर्खामा पाहुना आउँदैनन्, सधैं फुर्सदिलो भइन्छ ।’ उनका अनुसार गत वर्ष होमस्टेमा ३ हजार हराहारी पाहुना आएका थिए । करिब १५ लाख बढीको कारोबार भएको छ ।
रानाथारु समुदायका परिकारहरु ढिकरी, अनदीको भात, स्थानीय जातका कुखुरा लगायतका परिकार पाहुनाले निकै रुचाउँछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारु समुदायको मौलिक संस्कृति हेर्न समेत पाहुना लोभिने गरेका छन् । कान्तिपुर दैनिकबाट ।













