पालिका केन्द्रित वडा कार्यालयहरु आफ्नै वडामा फर्किदै

कैलाली । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएका कैलालीको कैलारी गाउँपालिकाका वडा कार्यालयहरु अन्दोलन पश्चात पालिकाबाटै सेवा प्रवाह गर्दै आईरहेको थियो । तर केही दिन यता पुन आफ्नै वडामा फर्किन थालेका छन् ।

गत भदौ २४ गते आगजनिमा परेका वडा कार्यालयहरु सेवा प्रवाहको लागि आवश्यक स्रोत साधनको अभावले वडा कार्यालयहरु हसुलियाबाट सेवा दिइ रहेका थिए । जसबाट आमनागरिकहरुलाई निकै सास्ती भएको थियो ।
सम्बन्धित वडाबाटै सेवा प्रवाहको विकल्पको पहिचान गरी सेवा सुचारु हुनुपर्ने दवाबपछि वडा कार्यालयहरु सम्बन्धित वडाबाटै सेवा सुचारु गर्न थालिएको हो ।

कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार ९ वटा मध्ये अधिकांशले वडाबाटै काम सुचारु गरिसकेका छन् ।

गाउँपालिकाको वडा नंं १, २, ५ र ८ ले वडाबाटै सेवा सुचारु गरिसकेका उनले बताए । १ र २ नं. वडाले आफ्नै भवनबाट सेवा सुचारु गरेका छन् । वडा नं. ५ ले पहिलेको भवनसँगै रहेको अर्को भवनबाट सेवा दिन थालेको छ । वडा नंं ८ ले भने उसासीपुर प्राथमिक स्वास्थ केन्द्रको पुरानो भवनबाट सेवा दिइरहेको हो ।

बाँकी वडा कार्यालयहरु पनि दुई दिनभित्र सारिसक्ने बताइएको छ । वडा नं. ३ ले त्यहाँस्थित क्लबको भवनबाट, वडा नंं ४ ले आधारभुत स्वास्थ्य केन्द्रको हल या स्तनपान कक्षबाट सेवा दिने तयारी गरेको जनाइएको छ ।

वडा नं. ६ ले खरेट्टीस्थित स्कूलको भवनबाट सेवा दिने तयारी गरेको छ । त्यस्तै, वडा नं. ७ ले त्यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्रका भवनबाट सेवा दिने तयारी गरेको वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिए । कार्यालयको लागि प्रिन्टर अभाव रहे पनि विहीबारदेखि सेवा दिने उनले बताए । त्यस्तै, वडा नं. ९ ले त्यहाँस्थित भलमन्साहरुको बैठक घरबाट सेवा दिने तयारी गरेको छ ।

कैलारी गाउँपालिकास्थित नागरिक अगुवा, शिक्षक, सञ्चारकर्मी, बरघर, भलमन्सालगायत सहकार्यमा थालिएको ‘बेथिति र भ्रष्टाचार विरुद्ध, सुशासन, समृद्धि र निकासको लागि नागरिक अभियान कैलारी’ले वडा कार्यालयहरुको सेवा सम्बन्धित वडाबाटै प्रवाह गर्नुपर्ने मागसहित असोज २६ गते ज्ञापनपत्र बुझाएको थियो ।