कैलालीमा एक युवकको घाँटी रेटी हत्या, टाउको बोकेर दुई युवक पुगे प्रहरी चौकी
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गए राति एक युवकको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपमा संलग्न दुई युवक आफैं टाउको बोकेर प्रहरी चौकी पुगे प्रहरी कार्यालय जानकारी दिए ।
जील्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र बहादुर चन्दका अनुसार २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।
गए राति करिब ११ बजे रक्सी पार्टीका क्रममा ति युवकहरु बिच विवाद चर्किएपछि घटना घटेको प्रहरीले जानकारी दिए । विवाद तीव्र बन्दै गएपछि १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले मिलेर बुढाको घाँटी रेटेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
हत्या पश्चात् दुबै युवकले मृतकको टाउको हातमा बोकेर प्रहरी चौकी पुगेका थिए। उनीहरूले प्रहरीसमक्ष आफैंले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको टाउको हाल इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै छ। घटनाको प्रकृति गम्भीर रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक बुढाको घर सुर्खेत रहेको प्रहरीले बताएको छ। मृतकका आफन्त अहिले धनगढी आइरहेकाले घटनास्थलबाट शब नउठेको, आफन्त आएपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने एसपी चन्दले बताए ।













