कैलारीको वडा कार्यालयबाट प्रवाह हुने सेवा गाउँपालिकाले दिने
कैलाली । कैलाली जिल्ला स्थित कैलारी गाउँपालिका वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा गाउँपालिकाले दिने भएको छ ।
गाउँपालिका कार्यालयको मुख्य–मुख्य शाखाको महत्वपूर्ण कागजात, सरसमान सहित वडा कार्यालयमा तोडफोड र आगजानी भएपछि केही दिनकोलागि गाउँपालिकाले नै सेवा दिने जनाएको हो ।
वडा कार्यालयबाट सेवा सुचारु हुन केही समय लाग्ने भएकोले वडा कार्यालयबाट प्रदान हुने सबै सेवा गाउँ पालिकाले दिने निर्णय भएको गाउँपालिकाको सूचना अधिकारी यगम कलेलले जानकारी दिए । अँट्वार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरि कार्यपालिकाको बैठकले जेनजी आन्दोलनको क्रममा सहदात प्राप्त भएकालाई शहिद घोषणा गर्ने, उनीहरुको परिवारलाई राहत उपलब्ध गराउने, घाईतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, सार्वजनिक तथा निजि सम्पतिमा तोडफोड र आगजानी गर्नेहरुको पहिचान गरि कार्वाहीको लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनको नाउँमा प्रदर्शकारीले गाउँपालिकाको सरसमान तोडफोड र आगजानी गरेपछि सेवा प्रवाहमा समस्या आएको हो । यस्तै गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरीको नीजि घरको सरसामानपनि तोडफोड र आगजानी भएको छ । प्रदर्शनकारीले पालिकामा राखिएको एक स्कुटी र दुई वटा मोटरसाइकलपनि जलाएका छन् ।
यस्तै गाउँपालिकाले सेवा सुचारु गर्न सहज होस् भनि बिच ज्योति आयल स्टोरका सञ्चालक जय ठाकुरले गाउँपालिकालाई एक थान डेस्कटप कम्प्युटर पनि सहयोग गरेका छन् ।













