असोज १ गतेदेखि विदेशी पर्यटकलाई अनलाइन ट्रयाकिङमा राख्ने
काठमाडौं । आउने असोज १ गतेदेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विद्युतीय प्रणालीमार्फत दर्ता तथा अनुगमन गरिने भएको छ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीलाई कार्यन्वयन गर्ने जनाएको छ ।
यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्ने विभागले जनाएको हो । दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।
विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने भएको छ । विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध गरेको छ ।
यस प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने, आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुनेछ ।













