पर्यटन प्रवर्द्धनकालागि पाहुना घर

कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण गरिरहेको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण हुन लागेको हो ।

पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु. तीन लाख र सामुदायिक वनबाट रु. सात लाखभन्दा बढी रकम घर निर्माण भईरहेको वनका अध्यक्ष जोगराज चौधरी बताउँछन् । उनका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई बेद र आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न हुन्छ ।”

निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध हुने उनको भनाई छ । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पनि उपलब्ध गराउने योजना रहेको अध्यक्ष चौधरी बताउँछन् ।

पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत बारे जानकारी दिने । अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन र सोही अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिने बताए ।

पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनः उत्पादन प्लट, १६ कट्ठाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध हुने ।

सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी समेत भईरहेको उनले बताए ।