अनाथ र विपन्न बालबालिकाहरुका लागि छात्रावास
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माण हुदै छ । यस विद्यालयमा प्रायः अनाथ र भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् ।
यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ र भोटे समुदायका बालबालिकालाई २०७९ देखि विद्यालयमै राखेर पढाउने गरेको छ ।
विद्यालयले यहाँ बस्ने गरेका बालबालिकालाई खाना, लगाउने कपडालगायतको राम्रो व्यवस्था गर्दै आएपनि उनीहरूलाई राति बास बस्नका लागि भने राम्रो भवन नहुँदा समस्या थियो ।
विद्यालयले उनीहरूलाई कर्कट पाताले छाएको छाप्रोमा राखेर पढाउने गरेको छ । यहाँ पढ्ने ती अनाथ बालबालिका पनि त्यही सानो छाप्रोमा बस्ने गरेको थिए । करिब तीन वर्षअघि बाजुरामा आएको भूकम्पका कारण छाप्रो पनि भट्केको थियो ।
हिउँदको महिना यहाँ सधैँ बाक्लो हिमपात हुन्छ । त्यो बेला बालबालिकालाई समस्या हुने गरेको शिक्षकहरुको भनाई छ ।
स्विजरल्यन्डको नेफा संस्थाका अध्यक्ष वार्ननर स्थलनले सोही ठाउँमा आएर प्रत्यक्ष भ्रमाणगरि यहाँ छात्रावास बनाउने निधो प्रतिवद्धता जाहेर गरे । अहिले उनले स्व.हानाको पहलमा सुरु भएको कामलाई निरन्तरता दिँदै नेफा संस्थाको तीन करोडभन्दा बढीको आर्थिक सहयोगले सो विद्यालयमा छात्रावास, भान्छा घर, शौचालयसहित १६ कोठे भवन निर्माण भइरहेको छ ।













