स्थानीय सरकारसंग बजेट तथा नीतिगत पैरवी सम्बन्धी बैठक
कैलाली । सुदूरपश्चिम प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनकता शिक्षा अवस्था र नीतिगत बजेटबारे शुक्रबार धनगढीमा छलफल भएको छ ।
विकासकालागि युवा ऐक्यवद्धता (यार्ड)को आयोजनामा भएको बैठक तथा छलफलमा विद्यालय स्तरमा यौन शिक्षाको अवस्थाबारे छलफल भएको थियो । छलफलमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले धनगढी भित्रका विद्यालयमा सेनेटरी प्याड र मर्यादित महिनावारीबारे पैरवी गर्दै आएको जानकारी दिईन् ।
उनले यौन शिक्षाको बारे अभिभावकहरुले पनि आफ्नो बालबालिकहरुसंग खुलेर छलफल गर्न आवश्यक रहेको बताईन् । विद्यालयमा पढ्ने किताबी ज्ञानसंगै घरमा सिकिने व्यवहारिक ज्ञानलाई महत्व दिन उपप्रमुखको आग्रह थियो ।
धनगढी उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यालाई आफ्नो गौरबको योजना बनाएको बताउदै । जो जहाँबाट काम गर्छ, सबैले आफू गर्दै आएको कामको प्रचार गर्न जरुरी रहेको बताईन् ।
उनले भनिन् ‘पहिला मान्छेहरु यौन शब्द सुन्नसाथ लजाउथे तर आजभोली चौटारीमै बसेर बहश गर्न थालेका छन् । हामीले खोजेको परिवर्तन यहि हो । छलफल र बहश गर्न सक्नुपनि सफलता हो । अब ग्याप कहाँ छ, त्यता तिर ध्यान दिन जरुरी छ ।’
यस्तै विद्यालय पढ्दै गरेका विद्यार्थीहरुले नयाँ बन्ने संरचना बालमैत्री हुन जरुरी रहेको बताए । विद्यालयमा महिनावारी भएको बेला किशोरीहरु आफ्नो पेट समातेर बसेको देखिन्छ, त्यस्तो अपथ्यारो परेको बेला उनीहरुलाई अरामको लागि विद्यालयमै अराम कक्षकोठाकोलागि पनि विद्यालय व्यवस्थापन समितिले सोच्न विद्यार्थीको आग्रहहरुको थियो ।
बैठकमा सरोकारवाला संघसंस्था, नगरपालिकाको सामाजिक विकास शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकमा यार्डका कार्यक्रम संयोजक आरती लोहारले परियोजनाको बारेमा जानकारी दिएका थिईन् ।













