‘बरघर भलमन्सा’ प्रथालाई कानुनी मान्यता पाउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको छ ।

सरकारले प्रदेशसभा सचिवालयमा केही दिनअघि ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएर यस प्रथालाई नियमन गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रदेशमा बसोबास गर्ने आदिवासी थारू जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बरघर भलमन्सा प्रथालाई संरक्षण, विकास र नियमन गर्न आवश्यक भएको प्रस्तावित विधेयकमा उल्लेख छ ।

विधेयकमा थारू जातिको बसोबास रहेका प्रत्येक गाउँमा एउटा बरघर भलमन्सा प्रणाली रहने र प्रदेश सरकाले आफ्नो वार्षिक बजेट कार्यक्रममा प्रणालीको संरक्षण, विकास एवं संवर्द्धन गर्नका लागि आवश्यक बजेट तथा अनुदान रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।

थारू समुदायबाट यस प्रथालाई कानुनी मान्यता दिनुपर्ने माग उठ्दै आएको थियो । यहाँ कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको छ ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा हालै आयोजित मुक्तकमैया दिवस समारोहमा थारू समुदायको संस्कृति संरक्षणका लागि बरघर भलमन्सा प्रथाको संरक्षण एवं संवर्द्धनका लागि ऐन बनाउन लागिएको जानकारी गराएका थिए ।

“थारू समुदायको बरघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिनका लागि विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।
थारु गाउँको एक मुख्य व्यक्तिलाई ‘भलमन्सा’का रूपमा छनोट गर्नुपर्ने प्रचलन थारू समुदायमा सदियौँदेखि रहेको छ ।

भलमन्साले अह्राएको काम गाउँवासीले गर्नुपर्ने हुन्छ । हरेक वर्ष माघी पर्व सुरु भएसँगै थारूबस्तीमा भलमन्सा छनोट गर्ने प्रचलन छ ।